
काठमाडौँ : नेपाली कांग्रेसले राष्ट्रपतिबाट आह्वान गरिएको संसद् अधिवेशन पहिलो बैठक नै नबस्दै पुनः स्थगित गरिएको विषयमा असन्तुष्टि जनाएको छ । पार्टीले उक्त कदमलाई संसदीय अभ्यास र संवैधानिक मर्यादा विपरीत भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानअनुसार अधिवेशन आह्वान गर्नु नियमित वैधानिक प्रक्रिया भए पनि बैठक सञ्चालन नगरी स्थगन गर्नु संसदीय परम्परा तथा लोकतान्त्रिक नैतिकतासँग मेल नखाने ठहर गरेको हो ।
बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा संसद्लाई स्वतन्त्र बहस, निर्णय र जनप्रतिनिधित्वको संस्थाका रूपमा होइन, कार्यपालिकाको सुविधा अनुसार प्रयोग हुने संरचनाजस्तो बनाउने जोखिम सिर्जना भएको उल्लेख गरिएको छ ।
कांग्रेसले संसद् स्थगनका लागि ‘विशेष कारण’ जस्ता अस्पष्ट आधार प्रस्तुत गरिएको र नागरिकलाई स्पष्ट जानकारी नदिइएको भन्दै सरकारको पारदर्शिता तथा नियतबारे प्रश्न उठाएको छ । पार्टीले संसद्को नियमित बैठक अविलम्ब सञ्चालन गर्न सरकारसँग मागसमेत गरेको छ ।