–मौसम बराल, पोखरा
आज खै एकता छ कता कता
खोज खै मानवता छ कता कता
दिन प्रति दिन झगडा लफडा हिंसा अपराध
देखिदैछ हेर आज जतातता !
तिमीले मलाई तपाईं नभने नि सुन म तपाईं नै हो
देश विकास र शान्तिका निम्ति चाहिने मपाईं नै हो
मेरो जस्तो बल, बुद्धि, आचार, विचार त कसको पो छ र
तिम्रो जस्तो सडेको सुद्धी, मुलाको अचारको त के कुरा !
देश आज खण्ड खण्ड विखण्ड भएछ, मच्चिएछ वितण्डा
राष्ट्रिय झण्डा भन्दा नि ठूलो त रहेछ आपसी भागवण्डा
आलोपालो लुटेर खाए, देश जनतालाई चुसेर गरिब बनाए
गरिबीको नाउँमा मागिखाने चन्दा गजबको छ हेर धन्दा !
हेर, भ्रष्टाचार नियन्त्रक नै स्वयम् भ्रष्टाचार गर्दछ
हेर, निष्पक्ष न्यायमूर्ति नै स्वयम् अन्याय जो गर्दछ
भुसमा समेत देख्छन् घुस तर नदेख्ने जनता ती अन्धा !
देशमा शान्ति, सुरक्षा, समृद्धिको कहिले फैलने सुगन्ध ?
जो हुन्छ भान्छे, टन्न खान्छ, खुवाउँछ आफ्नै मान्छे
जे जे पर्छ खाएको खर्च सबै मिलाउँछ आफ्नै भान्छे
जो हुन्छ पाले, भर्ती गर्छ साले, टेर्दैन भनेको कसैको बाले
मामाघर पठाउँछ एउटाले, फिर्ता बोलाउँछ फेरि अर्काले !
भोका भेडाहरु कराउँछन्, स्यालहरु घाँस चराउँछन्
दुई दिन चराउँछन्, हराउँछन्, अनि टाकुरामा पुगेर कराउँछन्
जिल्ल पर्छन् भेडाहरु, टिल्ल पर्छन् स्यालहरु
भेडाहरु थुप्रिन्छन्, उफ्रिन्छन्, स्यालविरुद्ध कुर्लिन्छन्
तर सिंहसँग मिलेर स्याल डुलिरहन्छ काढ्दै र्याल !
जङ्गल सुक्दै गएपछि भेडाहरु समुद्रपारी बसाइ सर्छन्
कराउने कोही नभएपछि सिंह र स्याल मोजले रजाइ गर्छन्
हेर, कस्तो थियो जङ्गल हिजो, आज कस्तो भएछ
हरियाली उजाडिएको सुख्खा मरुभूमि जस्तो भएछ
सिधा सोझा भेडाहरुलाई बलिया बाङ्गाहरुले शोषेको
हेर त, जङ्गल त आखिर सिंह र स्यालको मात्र पो रहेछ !
घाँस खाने भेडाले जब मासुभात खायो तब पछुतायो
नोटसँग भोटको जब मित लायो तब पछुतायो
आज मासुभात खुवाएको त भोलि आफ्नै मासु खान पो रैछ
धोकेवाजले बारबार जब भोट पायो तब पछुतायो !
त्यही सोझो भेडा अब नरसिंह बन्ने बेला आएको छ
घुर्त स्यालहरु पाखा लाउँदै मत गन्ने बेला आएको छ
निस्वार्थ भई विकास–मार्गहरु खन्ने बेला आएको छ
जङ्गललाई सदाबहार बनाउँदै, जितको खुसीयाली मनाउँदै
जय जय मातृभूमि जय जय भन्ने बेला आएको छ !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies