
काठमाडौं : राष्ट्र निर्माण दल नेपालको केन्द्रीय कार्यालय, सिनामंगलस्थित पार्टी कार्यालयमा शनिबार पार्टीको समीक्षा बैठक सम्पन्न भएको छ ।
बैठकमा गएको निर्वाचनको समग्र समीक्षा गर्दै आगामी दिनमा पार्टीले अवलम्बन गर्ने राजनीतिक दिशा, संगठन विस्तार तथा भावी रणनीतिबारे विस्तृत छलफल गरिएको छ ।
चुनावी समीक्षा क्रममा फरक ढंगको पपुलिष्ट राजनीतिक आँधीबेहरीमा ठूला दलहरू प्रभावित भएको अवस्थामा, सीमित समय (१५–२० दिन), अति कमजोर संगठन र न्यून स्रोत–साधनका बाबजुद प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ३६ मात्र उम्मेदवारी दिएर पनि पार्टी १२औं स्थानमा रहन सफल भएको तथा नयाँ दलहरूमा तेस्रो स्थानमा स्थापित हुनुले आगामी दिनमा सफलता हासिल गर्ने आधार तयार भएको निष्कर्ष निकालिएको छ ।
बैठकले पार्टीका महासचिव मोहम्मद जाकिर हुसैन को संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । उक्त टोलीमा खगेन्द्रप्रसाद ढकाल, सुमन खड्गी, पिके आचार्य र कविता आले मगर सदस्यका रूपमा मनोनयन भएका छन् ।
टोलीले पार्टीको आगामी राजनीतिक समन्वय, संवाद तथा रणनीतिक विषयमा आवश्यक पहल गर्नेछ ।
संगठनात्मक सुदृढीकरणअन्तर्गत बैठकले मधेश प्रदेशको संयोजकमा अब्दुल अजीज लाई मनोनयन गरेको छ । त्यसै गरी राष्ट्र महिला मञ्चको संयोजकमा पुनः कविता आले मगरलाई मनोनयन गरिएको छ ।
बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी पार्टीका केन्द्रीय सदस्यहरूमाथि मासिक एक हजार रुपैयाँ लेबी तोकेको छ ।
बैठकले केन्द्रीय समितिको अर्को विस्तारित बैठक जेठ १६ गते चितवन मा बस्ने निर्णय गरेको छ ।
नीतिगत रूपमा बैठकले खुला भारतीय नाकाबाट १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार कर लगाउने सरकारी निर्णयलाई अव्यवहारिक ठहर गरेको छ ।
यसैगरी बैठकले देशभरका सुकुम्बासीहरूको समस्या वैज्ञानिक र व्यवहारिक रूपमा समाधान गर्न, मीटरव्याजी समस्या यथाशीघ्र समाधान गर्न तथा निजामती सेवा ऐन र विद्यालय सञ्चालनसम्बन्धी ऐन शीघ्र संशोधन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
बैठकमा निर्वाचन समीक्षा, केन्द्रीय समिति अद्यावधिक, आगामी कार्ययोजना तथा विविध विषयमा व्यापक छलफल भएको थियो ।
समीक्षा बैठकमा घोषणा सभाको दिन घोषणा गरिएका सबै केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, प्रदेश इन्चार्ज तथा संयोजकहरू, जिल्ला अध्यक्ष तथा सचिवहरू, पालिका अध्यक्ष तथा सचिवहरू तथा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैठक दलका अध्यक्ष शमीम मियाँ अन्सारीको अध्यक्षतामा सम्पन्न भएको हो ।