
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँट हुन नसक्दा संघीयता बद्नाम हुँदै गएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले तीन तहको अधिकार स्पष्ट बनाई संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
संघीयता खर्चिलो, महँगो र अव्यवहारिक नभई उचित व्यवस्थापनमा ध्यान दिन नसकिएको उनको बुझाइ छ । चालिसेले एउटा चिकित्सक वा डाक्टर खराब हुनसक्ने भएपनि चिकित्सा विज्ञान आफैंमा खराब नहुने उदाहरण दिँदै केही कमजोरीका आधारमा संघीय व्यवस्थामाथि प्रश्न उठाउनु उचित नहुने बताए ।
उनले केन्द्रीय सरकार र स्थानीय सरकारबीच शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा अधिकारको ओभरल्याप रहेको बताए ।
उनले संघबाट पठाइने कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले प्रभावकारी रूपमा परिचालन गर्न नसक्ने अवस्था रहेको भन्दै स्थानीय तहलाई कर्मचारी नियुक्तिको अधिकार दिन ढिलाइ गर्न नहुने बताए ।