
ललितपुर : ललितपुर महानगरपालिका–१४ खुमलटारस्थित युलिएन्स स्कुल अगाडि सडक खण्डमा कारले स्कुटरलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
सोमबार साँझ करिब ७ बजे बा.ए.डि. ५९५९ नम्बरको कारले प्रदेश १–०३–००१ प ०५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकसहित पछाडि सवार ३ जना घाइते भएका हुन् ।
घाइतेहरूलाई तत्काल उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा स्कुटर चालक पाँचथर याङरक गाउँपालिका–६ घर भई हाल खुमलटार बस्ने ३४ वर्षीया धनकुमारी लिम्बू, स्कुटरमा पछाडि सवार उनकी १४ वर्षीया छोरी कृतिका लिम्बू, ९ वर्षीया छोरी कृष्टिना लिम्बू र १३ वर्षीया भदैनी संस्कृति लिम्बू रहेका छन् ।
कार चालक ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ५२ वर्षीय ओम पुन र सडकको बीचमा रोकेर राखिएको भे.आ. ६९०५ नम्बरको गाडीका चालक धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई हाल काठमाडौं सितापाइला बस्ने २२ वर्षीय पौषबहादुर राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।