
काठमाडौं : सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आइजिपी)मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ । २०५४ सालमा नेपाल प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका पौडेललाई सोमबार मन्त्रिपरिषद् बैठकले आइजिपी बनाउने निर्णय गर्यो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आगामी वैशाख १८ गते आइजिपीको चारवर्षे पदावधि पूरा गरेर अवकाश हुँदै छन् । त्यसपछि पौडेलले नेतृत्व सम्हाल्नेछन् । अर्याल र पौडेल प्रहरी निरीक्षकदेखि डिआइजीसम्म एकसाथ बढुवा हुँदै आएका ब्याची अधिकृत हुन् ।
देशमा सशस्त्र द्वन्द्व चलिरहेकै अवस्थामा नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) बनेका उनी २८ वर्षको सेवापछि संगठनको मूल नेतृत्व सम्हाल्न पुुगेका हुन् । पौडेलले आफ्नै ब्याचीको अवकाशपछि मात्रै आइजिपी बन्ने अवसर पाएका हुन् ।
हाल (दुवै संगठन) नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी आइजिपी राजु अर्याल उनका ब्याची हुन् । सुर्खेत घर भएका पौडेलले ५ वर्ष वीरेन्द्रनगर नगरपालिकामा खरिदार भएरसमेत काम गरेका थिए । त्यसपछि साथीभाइको लहैलहैमा इन्स्पेक्टर बन्न काठमाडौं आएका उनले पहिलोपटकमै इन्सपेक्टरमा नाम निकाले ।
‘म प्रहरी बन्छु नै भनेर त आएको थिइनँ,’ उनले भने, ‘साथीहरूले इन्सपेक्टर भिडौं न त भनेपछि आएको हो, पहिलोपल्टमै नाम निस्कियो । प्रहरी फोर्समा आउँछु होला भन्ने त मैले कल्पना पनि गरेको थिइनँ ।’ तालिम सकिएपछि सुरुमै सुरक्षाकर्मीलाई सबैभन्दा जोखिम मानिएको रोल्पामा पहिलो पोस्टिङ भएका उनी रोल्पाका दुईवटा इलाका प्रहरी कार्यालयमा खटेर काम गरे ।
२०५८ सालमा नेपाल प्रहरीका जुनसुकै तहबाट पनि सशस्त्र प्रहरीमा जानेलाई सरकारले एक तह बढुवा गर्ने निर्णय गरेको थियो । त्यही क्रममा पौडेल नेपाल प्रहरीबाट सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका थिए । राजु अर्याल र नारायणदत्त पौडेलसहित ५ जना सशस्त्र प्रहरीमा समायोजन भएपछि २०५८ चैत १८ गते डिएसपी भएका थिए । सशस्त्र प्रहरीमा गएपछि उनी सुरक्षा बेस तुल्सीपुरको प्रमुख भए । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि काम गरे ।
२०६३ चैत २९ गते एसपीमा बढुवा भएपछि शान्ति प्रक्रियाका बेला अनमिनमातहत हतियार अनुगमनको सदस्यका रूपमा काम गरेका थिए । एसपीमै रहँदा सीमा सुरक्षा कार्यालय बर्दिया, निलबराही गण र बंगलामुखी विशेष कार्यदल गणको गणपतिसमेत भएका थिए । यस्तै, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग र उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनीमा पनि खटिएका थिए । २०७० जेठ २ गते सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएपछि प्रधान कार्यालयमा प्रशासन विभाग, व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, उपत्यका सुरक्षा कार्यालयमा रही नीतिगत तथा रणनीतिक योजना निर्माणमा पनि काम गरेको पौडेलसँग अनुभव छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुख तथा युएन शान्ति स्थापनार्थ तालिम शिक्षालय, ककनीका समादेशकको रूपमा काम गरेका पौडेलले एसएसपी हुँदै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली र सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय वैद्यनाथ बाहिनीमा सहायक बाहिनीपतिका रूपमा जिम्मेवारी पाएका थिए । २०७५ कात्तिक १३ गते डिआइजीमा बढुवा भएपछि कार्य तथा सीमा सुरक्षा विभाग र मानवस्रोत विभागमा खटिएका थिए । यस्तै, बाहिनीपतिका रूपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनी मुख्यालयहरूमा नेतृत्व गरेका थिए ।
२०७९ जेठ ६ गते अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि मानव स्रोत, सीमा तथा कार्य विभागको विभागीय प्रमुखका रूपमा काम गरेको अनुभव उनीसँग छ । पौडेलले २८ वर्ष सेवामा रहँदा सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिणबाहु (चौथो), प्रदेश सेवा पदक र संयुक्त राष्ट्रसंघ पदक पनि प्राप्त गरेका छन् । उनीसँग युएन शान्ति मिसनमा लाइबेरियामा ६ महिना र कोसोभोमा २५ महिना काम गरेको अनुभव छ ।