२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पहिले उनकै महामन्त्री उम्मेदवार, अहिले बदला

सिटौला हटाउने सर्तमै संसदीय दलको नेता बनेका थिए भीष्मराज

Nada
२०८३ वैशाख १६ गते १५:०४
Shares
पहिले उनकै महामन्त्री उम्मेदवार, अहिले बदला

काठमाडौं : नेपाली कांग्रेसमा शेरबहादुर देउवा पक्षसँगको तिक्तता बढाउने गरी राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाइएको छ । कांग्रेस विधानले दिएको अधिकार प्रयोग गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर कमलादेवी पन्तलाई राष्ट्रियसभाको संसदीय दलको नेता मनोनीत गरेका छन् । प्रतिनिधिसभामा दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा बासना थापा र  सचेतकमा निश्कल राई मनोनीत भएका छन् । 

ncell

नेता सिटौलाले सभापति थापाले आफूलाई हटाउन चाहेको संकेत पाइसकेका थिए । देउवा समूहको भेलामा मंगलबारै यसबारे छलफल मात्र भएको थिएन्, सो पक्षका प्रवक्ता मीनबहादुर विश्वकर्माले सिटौलालाई हटाउँदा विवाद झन् बढ्ने बताएका थिए । नभन्दै त्यस्तै भयो । तर पार्टीभित्रको संसदीय दलमा आफूले चाहेको नेता छान्ने स्थिति नभएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले भीष्मराज आङ्देम्बेलाई एउटा सर्तसहित सर्वसम्मत चयन गरे । त्यो सर्त थियो– राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने । २१ फागुनको निर्वाचनमा कांग्रेस प्रत्येक्षतर्फ १८ सिट जित्यो । शेरबहादुर देउवाकै पालामा समानुपातिक सूची बुझाइएकाले २० सांसदमा अधिकांश देउवानिकट छन् । त्यसैले संसदीय दलमा सभापति थापा अल्पमतमा छन् । त्यो गणित नदेखियोस् भन्नकै लागि उनले झण्डै एक महिना लगाएर संसदीय दलको नेता सर्वसम्मत चुनेका थिए । आङ्देम्बे आफैं पनि निवर्तमान सभापति देउवानिकट नेता हुन् । यसपटक उनलाई सर्वसम्मत बनाउन भने देउवा वा शेखर कोइराला समूहभन्दा उपसभापति विश्वराज शर्माले अडान लिए । सभापति थापा भने राष्ट्रियसभा दलको नेतामा सिटौलालाई हटाउने सर्तमा अन्तिम समयमा राजी भएका हुन् । 

कुनै बेला सिटौला गुटबाटै महामन्त्री चुनाव लडेका थापा उनीप्रति अनुदार हुनुका केही कारण छन् । पहिलो, १४औं महाधिवेशनदेखि नै गगन–सिटौला सम्बन्ध चिसिएको हो । अघिल्लो चुनावमा आफ्नै गुटबाट महामन्त्री लडेका थापाले गुट परिवर्तन गरेर शेखर कोइराला समूहबाट उम्मेदवारी दिने भएपछि सिटौला नराम्ररी बिच्किएका थिए । उनले सार्वजनिक रुपमै गगनलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए, ‘जसले नेता बनायो, उसले बिगार्न पनि सक्छ ।’ सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । कोइराला समूहबाट चुनाव जिते पनि गगन थापा लामो समय त्यो गुटमा पनि अटाएनन् । अन्ततः विशेष महाधिवेशनबाट उनी पार्टी सभापति बने । 

विशेष महाधिवेशनप्रति तत्कालीन सभापति देउवालाई उत्तेजित पार्ने र पार्टी विवाद गिजोल्न सिटौला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र विमलेन्द्र्र निधिको मुख्य भूमिका रहेको गगन समूहको बुझाइ थियो । पछिल्लो समय पार्टी विवाद मिलाउने विषयमा पनि सिटौलाका अभिव्यक्तिप्रति गगन असन्तुष्ट थिए । सिटौलासहितका नेताको अर्घल्याइका कारण सर्बोच्च अदालतबाट वैधानिकता पाइसकेपछि पनि कांग्रेस विवाद नमिलेको बुझाइ संस्थापनको छ । सिटौलासहितका नेताहरु १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको समिति समायोजन गरेर त्यसैबाट महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने अडानमा छन् । त्यसका लागि संस्थापन पक्ष तयार छैन । आफ्नै गृहजिल्लाका नेता विश्वप्रकाशसँग पनि सिटौलाको राम्रो सम्बन्ध थिएन । सोही कारण कांग्रेसमा सिटौलालाई अपमानजनक ढंगले दलको नेताबाट हटाउने निर्णय रोक्ने कोही भएन ।

सम्बन्धित खबर