
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समय कुरेर बस्न नसकिने भएर सरकारले परिणाममुखी काम देखाउन अध्यादेश मार्फत नम्र राजनीतिक आक्रामकता देखाउनुपरेको बताएको छ । सरकारले बोलाइसकेको संसद् रोकेर पाँच वटा अध्यादेश राष्ट्रपति समक्ष पेस गरेपछि चौतर्फी आलोचना भइरहेको छ । यसैबेला रास्वपा सभापति रवि लामिछानेले काठमाडौंमा उपलब्ध सांसद्हरुलाई सिंहदरबारमा बोलाएर ब्रिफिङ गरेका हुन् । उनले सांसद्हरुलाई स्वच्छ आचरण देखाउनसमेत निर्देशन दिए ।
बैठकपछि पार्टी प्रवक्ता मनिष झाले संवैधानिक आयोग, नियोगमा पद रिक्त रहेकाले महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ भएको स्थितिमा सरकारले अध्यादेश ल्याउनुपरेको बताए । ‘धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ’ उनले भने ।
विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न नसकिने उल्लेख गर्दै अहिलेको अध्यादेश पहिलेजस्तो दल फुटाउन वा विपक्षीलाई थुन्न नल्याइने झाले बताए ।
‘अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो । यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो’, उनले भने, ‘कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ।’