२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

अब पुरानै शैलीमा पार्टी अगाडि बढ्न सक्दैन : प्रचण्ड

Nada
प्रचण्ड खत्री
२०८३ वैशाख १६ गते १९:४०
Shares
अब पुरानै शैलीमा पार्टी अगाडि बढ्न सक्दैन : प्रचण्ड

रुकुम पश्चिम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब पुरानै शैलीमा अगाडि बढ्न नसक्ने बताएका छन् ।

ncell

बुधबार नेकपा जिल्ला समिति रुकुम पश्चिमको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संयोजक प्रचण्डले समयअनुसार नयाँ सोच र कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले आफू रुकुम पूर्वबाट निर्वाचित भए पनि समग्र रुकुम जिल्लाको विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले देशको समसामयिक राजनीतिक अवस्था, देखिएका समस्या तथा पार्टीको आगामी दिशा बारे पनि धारणा राखेका थिए । पार्टीभित्र अनुभवी नेतृत्व र स्पष्ट विचार भएकाले त्यसलाई थप सुदृढ गर्दै वैचारिक तथा राजनीतिक रूपमा संगठनलाई मजबुत बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वराष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, नेता गणेशमान पुन तथा प्रतिनिधिसभा सदस्य गोपाल शर्मालगायतले पनि प्रशिक्षण दिएका थिए । त्यस्तै, जिल्ला संयोजक गोविन्द रोकाले पार्टीको आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन नेता सुरज परियारले गरेका थिए ।

जिल्लाभरबाट नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा प्रशिक्षण तथा छलफल सत्र सञ्चालन गरिएको थियो ।

सो अवसरमा विभिन्न पालिकाका संयोजकहरूले पार्टीको वर्तमान अवस्था, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसअघि बुधबार बिहान रुकुम पश्चिम आइपुगेका प्रचण्ड बिहीबार आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने कार्यक्रम रहेको नेकपाले जनाएको छ । त्यहाँ जिल्लास्तरीय बैठक तथा प्रशिक्षणमा सहभागी भई त्यसपछि रोल्पाको थवाङमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने कार्यतालिका रहेको बताइएको छ ।

सम्बन्धित खबर