२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

बुद्ध दर्शनको सान्दर्भिकता

Nada
विश्वनाथ खरेल
२०८३ वैशाख १८ गते ०६:००
Shares
बुद्ध दर्शनको सान्दर्भिकता

आजको विश्व शस्त्रास्त्रको होडबाजी, युद्ध, जलवायु परिवर्तन र सामाजिक असमानताजस्ता गम्भीर संकटबाट गुज्रिरहेको छ । फलतः बुद्धले करिब २५०० वर्षअघि दिएको अहिंसा र मैत्रीको सन्देश यी समस्याको अचुक औषधि हुन् । मानिसले आफ्नो भौतिक प्रगतिको शिखरमा पुग्दा पनि भित्रैदेखि किन दुःखी छ भन्ने प्रश्नको जवाफ बुद्धको चार आर्यसत्यमा भेटिन्छ । संसारमा द्वन्द्वको मुख्य कारण मानिसको अविद्या र तृष्णा अत्यधिक हो । जसलाई बुद्धले दुःखको जड मान्नुभएको छ । तसर्थ गौतम बुद्ध नेपालको कपिलवस्तुमा जन्म लिएर विकसित गरेको दर्शन आजको आधुनिक विश्वमा अझ बढी प्रासंगिक बन्दै गएको छ । बुद्ध दर्शन कुनै धर्म मात्र होइन, यो एक व्यावहारिक जीवन दर्शन, मनोविज्ञान, नैतिकता र विज्ञानसँग जोडिएको दृष्टिकोण हो । यसले जीवनको दुःख, त्यसको कारण, अन्त्य र मार्गबारे स्पष्ट मार्गदर्शन दिन्छ । यसमा चार आर्यसत्यमा दुःख, दुःख समुदय, दुःख निरोध र दुःख निरोधगामी मार्ग यसको मूल आधार हो ।

ncell

विश्व इतिहासमा सिद्धार्थ गौतम बुद्धको उदय केवल एक धर्मको स्थापना मात्र नभएर, बल्कि यो त मानवीय चेतनाको जागरण र दुःख मुक्तिहेतु एक वैज्ञानिक एवं मनोवैज्ञानिक क्रान्तिको सुरुआत थियो । जब मानव समाज चरम भौतिकवाद, मानसिक अशान्ति, युद्ध र वातावरणीय संकटले घेरिएको छ, बुद्धका उपदेश अझ बढी जीवन्त र सान्दर्भिक बनेका छन् । जबकि बुद्धदर्शन दुःख र त्यसको निवारणमा केन्द्रित छ । बुद्धले कुनै काल्पनिक ईश्वर वा अदृश्य शक्तिको भर पर्नुभन्दा आफ्नै विवेक र अनुभवलाई प्राथमिकता दिएका छन् ।

युद्ध, पर्यावरणीय संकट, मानसिक स्वास्थ्य समस्या, सामाजिक असमानता, उपभोक्तावाद र प्रविधिको तीव्र विकासले निम्त्याएका चुनौतीबीच बुद्ध दर्शनले शान्ति, करुणा, माइन्डफुलनेस र अन्तरसम्बन्धको सन्देश दिन्छ । दलाई लामाले भनेझैं, बुद्ध दर्शनलाई दर्शन, विज्ञान र धर्मका रूपमा हेर्न सकिन्छ । यसको दार्शनिक र वैज्ञानिक पक्ष सबैका लागि उपयोगी छ, जबकि धार्मिक पक्ष व्यक्तिगत विश्वासमा निर्भर गर्छ । जबकि बुद्ध दर्शनको सान्दर्भिकता यसको समय अतिरिक्त स्वभावमा छ । यो छैटौं शताब्दी ई.पू.को लागि मात्र नभएर, २१औं शताब्दी र आगामी युगका लागि पनि हो । यसले स्वतन्त्रता, अन्तरनिर्भरता र वैज्ञानिक दृष्टिकोणलाई जोड दिन्छ । आधुनिक विज्ञानले भौतिक संसार बुझे पनि, बुद्ध दर्शनले मन, भावना र चेतनाको गहिरो अध्ययन गर्छ । 

बुद्ध दर्शनको मूल सिद्धान्त चार आर्यसत्यमा निर्भर छ । जसमा दुःख सत्यमा निर्भर रहेको छ । जसमा भन्ने नै हो भने जीवनमा दुःख छ । यसमा खासगरीकन जन्म, बुढेसकाल, रोग, मृत्यु, नचाहेकोसँग भेट, चाहेकोबाट अलग हुनु आदि दुःखका रूप हुन् । यो दुःख केवल शारीरिक होइन, मानसिक र अस्तित्वगत पनि हो ।  दुःख समुदय सत्यता रहेको छ । दुःखको कारण तृष्णा हो । यी तीन विषरूपी लोभ, द्वेष र मोहले दुःख निम्त्याउँछ । यो कर्म र पुनर्जन्मसँग जोडिएको छ । फलतः दुःख निरोध सत्यमा अडेको हुन्छ । दुःखको अन्त्य सम्भव छ । तृष्णालाई समाप्त गरेर निर्वाण प्राप्त गर्न सकिन्छ । दुःख निरोधगामी मार्ग सत्यतामा रहेको छ । जसमा अष्टांगिक मार्गले दुःख अन्त्य गर्ने बाटो देखाउँछ । यो मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक्य, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् प्रयत्न, सम्यक् स्मृति र सम्यक् समाधिमा आधारित छ । यसबाहेक, तीन लक्षण त्रिलक्षणमा अनित्यता, दुःख र अनात्मले संसारको स्वभाव बुझाउँछ । सबै कुरा परिवर्तनशील छन् । कुनै स्थायी आत्मा छैन । प्रतीत्य समुत्पादले सबै कुरा अन्तरसम्बन्धित भएको देखाउँछ । कुनै पनि वस्तु स्वतन्त्र रूपमा अस्तित्वमा छैन । यी सिद्धान्तहरूले जीवनलाई व्यावहारिक रूपमा व्यवस्थापन गर्न सिकाउँछन् । वस्तुतः बुद्धले आफैंलाई दीप बनाऊ भनेर स्वतन्त्र सोच र अनुभवलाई जोड दिनुभयो । यो दर्शन कुनै अन्धविश्वासमा आधारित छैन, बरु तर्क, ध्यान र नैतिकतामा आधारित रहेको छ । जुन अष्टांगिक मार्गलाई तीन भागमा विभाजन गर्न सकिन्छ । जसलाई सीलामा नैतिकता, समाधि (ध्यान) र प्रज्ञा (बुद्धि) । पञ्चशील (पाँच नैतिक नियममा हत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झूट नबोल्नु, मादकपदार्थ सेवन नगर्नु)ले दैनिक जीवनलाई निर्देशित गर्छ ।

बुद्ध दर्शन कुनै जड सूत्र वा अन्धविश्वास होइन । यो त एक खुल्ला दर्शन हो जसले एहि पस्सिका भन्दछ । बुद्धले आफ्ना उपदेशलाई पनि तर्क र अनुभवको कसीमा घोटेर मात्र स्वीकार गर्न भन्नुभएको छ । आजको विश्वलाई वैज्ञानिक आविष्कारको जति खाँचो छ । त्योभन्दा बढी बुद्धको करुणा र शान्तिको आवश्यकता छ । प्रविधिको विकासले मानिसलाई चन्द्रमासम्म पु¥यायो । तर आफ्नै छिमेकीसँग प्रेमपूर्वक बोल्न सिकाउन सकेन । यो रिक्ततालाई बुद्ध दर्शनले मात्र भर्न सक्छ । बुद्धका विचारलाई केवल मन्दिर वा बिहारमा सीमित नगरी हाम्रो दैनिक जीवन, राजनीति, अर्थतन्त्र र शिक्षा प्रणालीमा समावेश गर्न सकेमा मात्र एउटा सुन्दर र शान्त विश्वको परिकल्पना साकार हुन सक्छ । बुद्धको मार्गमा हिँड्नु भनेको केवल बौद्ध हुनु होइन, बरु एक पूर्ण र सचेत मानव हुनु हो । बुद्ध दर्शनको सान्दर्भिकता हिजो थियो । आज छ र भोलि अझ बढ्दै जानेछ । किनकि जबसम्म संसारमा दुःख रहन्छ । तबसम्म बुद्धको शान्तिको सन्देश उत्तिकै उज्यालो रहिरहनेछ ।

समग्रमा भन्नुपर्दा बुद्ध दर्शनको सान्दर्भिकता यसको व्यावहारिकता, वैज्ञानिकता र मानवीयतामा छ । यो दुःखबाट मुक्ति, करुणाको विस्तार र अन्तरसम्बन्धको समझ दिन्छ । आधुनिक विश्वको संकटहरूमा मानसिक स्वास्थ्य, पर्यावरण, सामाजिक विभेदमा यसले समाधान प्रस्ताव गर्छ । नेपालजस्तो बुद्धको जन्मभूमिमा यसको प्रवद्र्धन गर्नु आवश्यक छ । शिक्षा, स्वास्थ्य र नीतिमा बुद्ध दर्शन समावेश गर्दा समाज शान्त र सन्तुलित बन्न सक्छ । अन्तमा, बुद्धले भनेझैं सबै प्राणी सुखी होऊन् । यो सन्देश आजको विश्वलाई एकताबद्ध गर्न सक्छ । बुद्ध दर्शन केवल पुरानो मात्र नभएर, यो भविष्यको मार्गदर्शकको  पथप्रदर्श पनि हो । यसलाई अभ्यास गर्दा व्यक्तिगत र सामूहिक रूपान्तरण सम्भव छ ।

सम्बन्धित खबर