
दसैँ गयो, तिहार पनि गयो, छठ आयो । चाडपर्व आउँदै र जाँदै छन् । दुःखलाई पनि सुख सम्झेर बाँच्ने हाम्रो बानी छ । भोटेकोशी होस् वा बूढीगण्डकी, विपद्का घटना भइरहँदा पनि बाँचेका मानिस खुसी मनाउन छाड्दैनन् । तिहारमा विद्युत् खपत बढेर यसपटक एक हजार ७८० मेगावाट पुगेको छ । भ्याट लाग्दा पनि खपत नघट्नु सकारात्मक पक्ष हो ।
धर्म र संस्कृतिमा हाम्रो देश समृद्ध छ । फूलैफूलको चाड तिहारमा यसपटक फूल आयातमा प्रतिबन्ध लागे पनि बजारमा फूल महँगो भयो । हरेक वस्तु आयात भएपछि मात्र बजार सहज हुने अवस्था बनेको छ । लोकतन्त्रले धेरै सपना बाँडे पनि मौलिक संस्कृति, धर्म र धरोहर संरक्षणमा अपेक्षित काम हुन सकेको छैन । सांस्कृतिक पहिचान जोगाउने दायित्व सरकारको हो ।
हामी वैदिक सनातनी हौँ । घूसखोरी हाम्रो संस्कृति होइन । तर तिहारकै आसपास प्रमुख प्रशासकीय अधिकृत ३३ लाख रुपैयाँ घूससहित पक्राउ परेको घटनाले सुशासनको अवस्थामाथि प्रश्न उठाएको छ । ‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले अरूलाई बाँच्न देऊ’ भन्ने हाम्रो सांस्कृतिक मान्यता हो । व्यवहारमा भने नैतिकता र आचरणभन्दा स्वार्थ हावी हुँदै गएको छ ।
छठ मूलतः तराईको सांस्कृतिक पर्व भए पनि अहिले सर्वव्यापी बन्दै गएको छ । सडक जलाउने हाम्रो संस्कृति होइन, दीपावली गर्ने हो । छठमा नदी र जलाशयमा समेत दीप प्रज्वलन गरिन्छ । तर राजनीतिक विकृति, सत्ता संघर्ष र बेरुजुको भार बढाउने प्रवृत्तिले समाजको संस्कारमाथि प्रश्न उठाएको छ । धर्म र संस्कृति आडम्बरमा होइन, आचरण र चरित्रमा देखिनुपर्छ ।
सूर्य उपासनाको पर्व
छठ सूर्य पूजा र उपासनाको पर्व हो । सूर्यको प्रकाश र ताप पृथ्वीमा जीवनका आधार हुन् । वैदिक संस्कारले सूर्यलाई सम्पूर्ण जीवात्माको जीवनाधार मानेको छ । अथर्ववेदमा सूर्यका किरणमा रोग निवारण गर्ने शक्ति रहेको उल्लेख पाइन्छ । निरोगिता, आयु, आरोग्य र बलवृद्धिको कामनासहित सूर्य उपासनाको परम्परा विकसित भएको धार्मिक विश्वास छ ।
जनकपुरको जानकी क्षेत्र र काठमाडौंको रानीपोखरीमा छठका अवसरमा भव्य उत्सव देखिन्छ । सूर्यको पूजा गर्दै अस्ताउँदो र उदाउँदो दुवै अवस्थालाई सम्मान गर्ने परम्पराले यस पर्वलाई विशिष्ट बनाएको छ ।
पौराणिक मान्यता
छठ पर्वसँग विभिन्न पौराणिक कथा र मान्यता जोडिएका छन् । धार्मिक विश्वासअनुसार, अत्रि ऋषिकी पत्नी अनुसूयाले पतिको दीर्घायुको कामना गर्दै छठी माताको पूजा आरम्भ गरेकी थिइन् । भविष्यपुराणमा श्रीकृष्णका पुत्र शाम्बले कुष्ठरोग निवारणका लागि छठ व्रत गरेको प्रसंग उल्लेख छ ।
त्यस्तै, च्यवन ऋषिकी पत्नी सुकन्याले षष्ठी व्रत गरी छठ पूजा गरेको र अश्विनीकुमारहरूको सहयोगमा अन्धा पति च्यवनलाई पुनः दृष्टि प्राप्त भएको कथा प्रचलित छ । महाभारतकालमा पाँच पाण्डवले वनवास र गुप्तवासका क्रममा सूर्य उपासना गरेको तथा सूर्यदेवबाट शक्ति प्राप्त गरेको मान्यता पनि छ ।
हिन्दु नारीहरूले पौष महिनामा हरेक आइतबार सूर्य उपासना गर्ने परम्परा छ । सूर्य गायत्री मन्त्रले आत्मबल, इच्छाशक्ति र मनोबल बढाउने धार्मिक विश्वाससमेत रहेको छ ।
प्रकृति र जीवनको सम्बन्ध
धार्मिक दर्शनमा सूर्यलाई ब्रह्मा, विष्णु र शिवको संयुक्त स्वरूपका रूपमा व्याख्या गरिएको छ । सूर्यले प्राणीलाई ताप र ऊर्जा दिन्छन् । कार्तिकदेखि जाडो बढ्दै जाने भएकाले यस समयमा सूर्यको तापको महत्त्व झन् महसुस हुन्छ । सूर्यले दिनमा र चन्द्रमाले रातमा आफ्नो महत्त्व दर्शाउँछन् ।
जीवनको आरम्भ जलबाट हुन्छ । जल, माटो र अग्नि जीवनका आधारभूत तत्त्व हुन् । पूर्वीय दर्शनले मानव शरीरलाई स्थूल, सूक्ष्म र कारण गरी तीन स्वरूपमा व्याख्या गरेको छ । स्थूल शरीर भौतिक शरीर हो, सूक्ष्म शरीर मन हो भने कारण शरीर आत्मा हो ।
छठमा साँझ चन्द्रमालाई खीरलगायत प्रसाद अर्पण गर्ने चलन पनि छ । माटोको घडा, जलाशय, फलफूल, मिठाई, पक्वान्न र नरिवलसहित सूर्यदेवको पूजा गरिन्छ । यसले प्रकृतिका विभिन्न तत्त्वप्रति सम्मान र समर्पणको भाव व्यक्त गर्छ ।
साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर जलाशयमा डुबुल्की मार्ने, गीत गाउने, नाच्ने, भजनकीर्तन गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ केवल धार्मिक अनुष्ठान होइन, प्रकृति, जीवन र सामूहिक एकताप्रतिको सम्मान व्यक्त गर्ने सांस्कृतिक पर्व पनि हो । अस्ताउँदो सूर्यलाई सम्मान गर्नु र उदाउँदो सूर्यको स्वागत गर्नुले जीवनमा निरन्तरता, परिवर्तन र पुनःउदयको सन्देश दिन्छ । यही आस्था र प्रकृतिप्रतिको समर्पणले छठलाई विशिष्ट बनाएको छ ।