२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

पुर्खाको ज्ञान र आधुनिक समाज

Nada
डा. देवीप्रसाद आचार्य
२०८३ वैशाख २४ गते ०६:०५
Shares
पुर्खाको ज्ञान र आधुनिक समाज

विश्व मानचित्रमा नेपालको पहिचान विशिष्ट छ । हाम्रो इतिहास, संस्कृति, सामाजिक मूल्यमान्यता, आदर्श, रीतिरिवाज, वेशभूषालगायतमा समाज समृद्ध छ । हो, भौतिक विकासमा हामी अहिलेका विकसित देशहरूको दाँजोमा पछि परेका छौं । मानव सभ्यताको विकास केवल आधुनिक विज्ञान र प्रविधिको उपजले मात्र हुँदैन, समाजमा विकास भएका धार्मिक आस्था, सामाजिक अभ्यास तथा सांस्कृतिक वैभवजस्ता आधारले समाजको पहिचान दिन्छन् । सभ्यता झल्काउँछन् ।

ncell

हाम्रा पुर्खाको योगदानले यो मुलुकको इतिहास गौरवमय छ । पुर्खाहरूले निर्माण गरेको सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा साहसको बलमा वीर गोर्खा भनेर चिनिएका हौं । पुर्खाकै वीरताले नेपाल कहिल्यै पनि उपनिवेश बन्नुपरेन । आज हामी जुन समाजमा बाँचिरहेका छौं, यो केवल वर्तमानको मात्र उपज होइन, विगतमा पुर्खाले दिएको योगदानको प्रतिफल हो । पुर्खाले निर्माण गरेका सामाजिक, धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक विकासका आधारमा अभ्यस्त हाम्रो समाज पुर्खाको योगदानले निर्माण भएको हो ।

हाम्रा पुर्खाहरू संस्कृतिका निर्माता हुन् । संस्कृति भन्नाले मानिसले सिकेका र अपनाएका जीवनशैली, मूल्य, विश्वास, परम्परा, कला र व्यवहारको समष्टिगत रूप हो । आधुनिक मानवशास्त्रका विद्वान् क्लिफर्ड गिर्टजका अनुसार संस्कृति भनेको अर्थहरूको यस्तो जाल हो जसको आधारमा मानिसले आफ्नो अनुभवलाई बुझ्छ र व्यवहारलाई मार्गदर्शन गर्दछ । क्लिफर्डको भनाइलाई आधार मानेर हेर्दा हाम्रा पुर्खाहरूले निर्माण गरेका परम्परा, रीतिरिवाज तथा सांस्कृतिक अभ्यासहरू उनीहरूको अनुभव र परीक्षणका आधारमा निर्माण भएका हुन् । कृषि, पशुपालन, औषधि तथा प्रकृतिसँगको सम्बन्धमा उनीहरूले अपनाएको मार्गदर्शन जीवन जिउने कलासँग गाँसिएको देखिन्छ । आवश्यकता नै आविष्कारको जननी हो भन्ने कोणबाट हेर्दा हाम्रा पुर्खा व्यावहारिक वैज्ञानिक हुन् ।

त्यसो त हाम्रा पुर्खाहरूले विद्यालय र विश्वविद्यालयको औपचारिक शिक्षा पाउन सकेनन् । विद्यालय र विश्वविद्यालयको ढोकासम्म देख्न नपाएका हाम्रा पुर्खा अपठित थिए, तर सिर्जनाका धनी । अमेरिकी चिन्तक माल्कम एक्सले भनेका छन्, ‘औपचारिक शिक्षा नहुँदा पनि आत्मअध्ययन र चेतनाले मानिस शिक्षित बन्न सक्छ ।’ माल्कमले भनेझैं विद्यालयको ढोकासम्म नदेखेका हाम्रा पुर्खाहरूले औपचारिक शिक्षा प्राप्त गर्ने अवसर नपाए तापनि आत्मअध्ययनले धेरै कुराहरूको निर्माण गरे । उपकरणहरू आविष्कार गरे । उनीहरूको शिक्षाको स्रोत जीवन भोगाइ थियो । अनुभवजन्य मार्गदर्शन थियो । आवश्यकताले उनीहरू आविष्कारक तथा वैज्ञानिक बने ।

हाम्रा पुर्खाहरू सामाजिक वैज्ञानिक थिए । जन्म, विवाह र मृत्युलगायत सामाजिक संस्कारहरू स्थापित गरी छिमेकीलाई ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ भन्ने सामाजिक संस्कारको विकास गरे । जीवन जिउने कलाअन्तर्गत समाजमा असजिलो अवस्था र अभावमा आपसी सहयोगको संस्कृति निर्माण गरे । अर्म, पर्म, ऐंचोपैंचोजस्ता व्यवहारको प्रयोग गरी एकले अर्कोको दुःखमा सहयोग गर्ने मानवीय व्यवहारको विकास गरे । गाउँबस्तीमा बटुवाहरूलाई वास बस्नका लागि पाटीपौवाहरू बनाए । धर्मशालाहरू निर्माण गरी मानव सेवा गरे । पाहुनाहरूलाई ‘अतिथि देवो भव’ भनी ‘वसुधैव कुटुम्बकम्’को अभ्यास स्थापित गरे । यस अर्थमा हाम्रा पुर्खा मानवताका प्रतीक हुन् । सांस्कृतिक धरोहर हुन् ।

कृषि र पशुपालनलाई पेसाका रूपमा अपनाएका पुर्खाहरूले यस क्षेत्रमा आवश्यक पर्ने उपकरणको आविष्कार गरे । उपकरण निर्माण गर्दा प्रकृतिमा उपलब्ध माटो, पानी, ढुंगा तथा काठहरूको प्रयोग गरे । खेतबारी जोतेर अन्न उत्पादन गर्नका लागि काठबाट हलो बनाए । हलोको प्रयोग गर्दा आवश्यक पर्ने हरिस, बर्री, जुवा, अनौलगायत उपकरण निर्माण गरे । माटो खन्न लागि फलामबाट फाली बनाए । फालीलाई अड्याउन करुवा बनाए । जमिन जोत्न गोरु र राँगाहरूको प्रयोग गरे । मौसमअनुसारका अन्नबाली तथा फलफूल उत्पादन गरे । यस दृष्टिकोणबाट हेर्दा पुर्खाहरू जीवन जिउने कलाका कालिगढ भएको पुष्टि हुन्छ ।

यसैगरी, पुर्खाहरूले कृषि जीवनका लागि जमिन खन्न फरुवा वा कोदालीहरू बनाए । घाँस काट्ने हँसिया, पानी राख्न माटोबाट घैंटा तथा गाग्री निर्माण गरे । यी भाँडामा पानी बोक्नका लागि डोको, नाम्लो तथा डोरीहरू बनाए । अन्न भण्डारण गर्न मान्द्रो, भकारी तथा डेरीहरू निर्माण गरे । अन्नबाली काट्ने, स्याहार्ने र भण्डारण गर्ने मात्र होइन, धानको बोक्रा निकालेर चामल बनाउन काठबाट ढिकी बनाए । मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न आवश्यकताअनुसार पिठो वा मसिनो बनाउन ढुंगालाई खोपेर जाँतो बनाए । तोरीबाट तेल निकाल्न काठबाट कोल बनाए । गरेनन् त चमत्कार ? अनि हाम्रा पुर्खा कसरी वैज्ञानिक होइनन् ? नभनिएका वैज्ञानिक हुन् । सर्जक हुन् ।

पुर्खाहरूले प्रकृतिसँगको निकटता र अनुभवका आधारमा ज्ञान प्राप्त गरे । उनीहरूले धरती, आकाश, मौसम, वनस्पति र यिनबाट प्राप्त हुन सक्ने स्रोतसाधनको प्रयोग गरी नयाँ उपकरणको आविष्कार गरे । फ्रेन्च दार्शनिक रुसोको शिक्षा दर्शनमा ‘प्रकृति नै मानिसको गुरु हो’ भन्ने आशय व्यक्त भएको पाइन्छ । रुसोले भनेझैं हाम्रा पुर्खा प्रकृतिका विद्यार्थी थिए । जीवन भोगाइ तथा अनुभव उनीहरूका शिक्षक थिए । आवश्यकताले उनीहरू सर्जक भए ।

हाम्रा पुर्खाहरूको पौरख प्रशंसनीय छ । उनीहरूले आध्यात्मिक ज्ञानलाई पनि व्यवहारमा उपयोग गरे । भगवानका दन्त्यकथा सुनाएर छोराछोरी, परिवार तथा समाजलाई अनुशासित बनाए । पुर्खाहरूले मानव सेवा मात्र होइन, पशु तथा चराचुरुंगीका लागि पानी पिउने व्यवस्थाका लागि ठाउँ–ठाउँमा पोखरी निर्माण गरी वर्षाको पानी संकलन गरे । पानीघाटहरू बनाई गाईवस्तुलाई पानी खाने सुविधा दिएर प्राणीको हित गरे । बटुवालाई शीतल अनुभव गर्न वर–पीपलहरू लगाएर चौतारी निर्माण गरे । यति मात्र होइन, गाउँगाउँमा विभिन्न देवीदेवताका मन्दिरहरू निर्माण गरी पूजाआराधना गर्ने धार्मिक संस्कार तथा संस्कृतिको विकास गरे । धर्म र पापको मापदण्ड बनाएर समाजलाई असल काम गर्न प्रेरित गरे । यस अर्थमा हाम्रा पुर्खाहरू धार्मिक गुरु हुन् ।

संस्कृति भनेको समाजको मेरुदण्ड हो । हाम्रा पुर्खाले संस्कृति र संस्कारको विकास र पुस्तान्तरण गर्ने काम पनि गरे । भाषा, धर्म, परम्परा, रीतिरिवाज, मूल्य, मान्यताहरू स्थापना गरी पुस्तान्तरण गर्दै गए । पुर्खाहरूमा समयअनुसारको वैज्ञानिक चेतना थियो । समाजमा अस्पताल, डाक्टर र औषधिहरू नभएको युगमा पनि उनीहरूले बिरामीहरूको उपचार गर्नका लागि वनजंगलमा पाइने जडीबुटीको अनुसन्धान तथा परीक्षण गरे । रोग लाग्दा वा चोटपटक लाग्दा बोटबिरुवालाई औषधिको रूपमा प्रयोग गरे । गुणका आधारमा रुखबिरुवाका जरा, पात, फल, फूल वा बोक्रा आदिलाई औषधिको रूपमा प्रयोग गर्ने ज्ञान तथा सीप सिके । यस कोणबाट हेर्दा हाम्रा पुर्खाहरू अपठित वैज्ञानिक हुन् । आयुर्वेदिक औषधिका विज्ञ हुन् । विशेषज्ञ हुन् । वैद्य गुरु हुन् ।

हाम्रा पुर्खाहरू धार्मिक गुरु हुन् । समाज विकासका सामाजिक वैज्ञानिक तथा अनुभव र जीवन विज्ञानका खुला विश्वविद्यालय, संस्कृतिका सर्जक, अनुभवका खानी र हाम्रा गौरव हुन् । हाम्रा मान, सान र प्रेरणाका स्रोत हुन् । अहिले हामीहरू एक्काइसौं शताब्दीको तेस्रो दशकमा अगाडि बढिरहेका छौं । आधुनिक समाज निर्माणको दौरानमा नयाँ मान्यताहरूले पुराना मूल्य र आदर्शलाई ओझेलमा पार्दै गएको अवस्था छ । पुर्खाले निर्माण गरेका परम्परागत मूल्यमान्यता, धर्म–संस्कार, संस्कृति र उपकरणहरू लोप हुने अवस्थामा छन् । यिनीहरूको संरक्षण, संवद्र्धन र आवश्यकताअनुसार समयानुकूल बनाउँदै जानु हामी सबैको कर्तव्य हो ।

अन्त्यमा, आफ्नै मौलिक पहिचानलाई बिर्सिएर गरिएको विकास केवल बाह्य चमक मात्र हो । पहिचान गुमाउने काम कोही कसैबाट हुनुहुँदैन । यस सन्दर्भमा हामीले एकातिर पुर्खाले निर्माण गरेका आविष्कार, सामाजिक, धार्मिक तथा सांस्कृतिक मूल्य, मान्यता र आदर्शलाई जोगाउनु छ भने अर्कोतर्फ आधुनिक जीवनशैलीलाई पनि अस्वीकार गर्न सक्ने अवस्था छैन । यस अर्थमा समाजले मौलिक पहिचानको जगमा आधुनिक समाज निर्माणमा भूमिका खेल्नुपर्दछ ।

सम्बन्धित खबर