
कागजका पानामा अंकहरू कोरिए,
‘हाम्रै हो सिट’ भन्दै गफहरू जोरिए ।
पुरानै थियो ढड्डा, पुरानै थियो रीति,
बन्द कोठाभित्रै जितिएका थिए प्रीति ।
गठबन्धनको जोड–घटाउ, भाग र गुणन,
आफैंले आफैंलाई सुम्पिएका थिए सिंहासन ।
‘जनता त हाम्रै खल्तीका नोट हुन्’ ठाने,
वर्षौंदेखि एउटै पुरानो लयमा गीत ताने ।
तर...
बाकस खोल्दा त अचम्मै भयो,
पुरानो गणितको सातो नै गयो ।
दश जोड दश बीस सोचेका थिए,
जनताले त शून्य उपहार दिए ।
जसलाई सोचेका थिए ‘भोट बैंक’ र दास,
तिनैले देखाइदिए नयाँ इतिहास ।
पुरानो पार्टीको खिया लागेको बुद्धि,
जनताले गरिदिए एकै झट्कामा शुद्धि ।
हिसाब मिलेन, न मिल्यो कुनै सूत्र,
बदलियो आज समयको चरित्र ।
अब त बुझ नेताज्यू, चल्दैन पुरानो धन्दा,
आँखा खोलिसके अबका ‘भेडा’ भनिएका जनता !