
काभ्रेपलाञ्चोक जिल्ला आन्तरिक पर्यटनका हिसाबले अत्यन्त महत्वपूर्ण क्षेत्र हो । धुलिखेलनजिकैको प्रसिद्ध नमोबुद्ध क्षेत्र, पनौतीको इन्द्रेश्वर मन्दिर र ६४ ज्योतिर्लिंगमध्ये एक मानिने भालेश्वर अवस्थित छन् । साँगामा विकटेश्वर, बनेपाको दक्षिणतिर धनेश्वर, मण्डन देउपुरमा कश्यपेश्वर रहेका छन् । पाँचखालको पूर्वी डाँडामा पलाञ्चोकी देवी पीठ रहेको छ भने बनेपाको पूर्व–उत्तर क्षेत्रमा ६४ ज्योतिर्लिंगमध्ये पर्ने चण्डेश्वर तथा सँगै चण्डेश्वरी मन्दिरको भव्य र आकर्षक मन्दिर रहेको छ ।
वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डी पूर्णिमा पनि भनिन्छ, यस अवसरमा बनेपामा मनाइने जात्राबारे संक्षेपमा चर्चा गर्नु यस आलेखको उद्देश्य हो । यही दिन बुद्ध जयन्ती पनि पर्ने भएकाले नेपालमा वैदिक र बौद्ध परम्पराको समन्वय झल्किन्छ ।
पूर्णिमाको दिन चण्डेश्वरीको भव्य जात्रा निकालिन्छ । जात्राको प्रारम्भ बनेपाको तीनधारे देवलबाट हुन्छ, जहाँबाट रित्तो रथ सिँगारी मन्दिरमा लगिन्छ । कानचिरुवा जोगीहरूले पूजा गरी एक भेडो बलि दिएपछि देवीलाई रथमा स्थापना गरी नगर परिक्रमा गराइन्छ । रथमा एक नाइके बस्ने परम्परा छ, जसले देवीको मूर्तिको संरक्षण गर्छन् । रथ चल्न थालेपछि बीचमा रोकिन्न, तर दिकेगु चौर पुगेपछि मात्र विश्राम दिइन्छ । ‘दिकेगु’ शब्दको अर्थ नै ‘रोकिने स्थान’ हो । त्यहाँ पुगेपछि रथका नाइके आचाजु रथबाट झर्छन्, नझरे बलपूर्वक झार्ने चलन पनि छ ।
केहीबेरको विश्रामपछि रथलाई बालुटोल लगिन्छ, जहाँ विशेष पूजा गरी राजाको प्रतिनिधिका रूपमा राजखड्ग प्रदर्शन गरिन्छ । भोलिपल्ट देवीलाई बटुटोल लगिन्छ, जहाँ चण्डासुर दैत्यको वध भएको विश्वास गरिन्छ । त्यहाँ बनेपाका बासिन्दाहरूले २१ जना नेवार कन्याका साथ देवीको स्वागत गर्छन् । देवीको मुहारमा लगाइएको कपडा हटाइ लायकु दरबार लगिन्छ, जसलाई नवदुलहीको घुम्टो खोलिएको रूपमा हेर्ने परम्परा छ ।
त्यसपछि पुनः देवीलाई वटुटोलमै ल्याइन्छ र कलशदान गरिन्छ । यस क्रममा फलफूल, मासु, बोकाको टाउको, रोटी आदि घरघरबाट जात्रामा फ्याँकिन्छ, जसलाई प्रसादका रूपमा लिनेहरूको ठूलो भिड लाग्छ । विशेषगरी बोकाको दायाँ आँखा वा टाउको प्राप्त गर्नेको मनोकामना पूरा हुने, सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । जात्राको अन्त्यमा देवीलाई रथबाट झिकेर ‘पौगा’ नामक कपडाले बेरी, नखी बाजा बजाउँदै विशाल जुलुससहित पुनः मन्दिरमा लगिन्छ । यस अन्तिम दृश्य हेर्न नहुने परम्परा पनि प्रचलित छ ।
धार्मिक ग्रन्थ स्कन्द पुराणअन्तर्गत हिमवत्खण्डको नेपाल माहात्म्यमा चण्डेश्वर र चण्डेश्वरीको महिमा वर्णन गरिएको पाइन्छ । कथाअनुसार प्राचीन कालमा चण्डासुर नामक शक्तिशाली दैत्यले कठोर तपस्या गरी भगवान् शिवबाट वरदान प्राप्त गरेको थियो । उसले मानिसबाट नमर्ने र स्त्रीबाहेक अरू कसैबाट मृत्यु नहोस् भन्ने वर मागेको थियो । यस वरदानका कारण उसले देवताहरूलाई समेत पराजित गर्न थाल्यो ।
दैत्यको अत्याचारबाट आक्रोशित भएर माता पार्वतीले उग्र चण्डीको रूप धारण गरी चण्डासुरको वध गर्नुभयो । दैत्यको विनाशपछि देवताहरूले देवीको स्तुति गरे र देवी त्यहीँ चण्डेश्वरीका रूपमा विराजमान हुनुभयो भन्ने विश्वास छ ।
अर्को कथाअनुसार, भृगु ऋषिका पुत्र च्यवनले यही उग्रतीर्थ क्षेत्रमा कठोर तपस्या गरी शिवको ज्योतिलिंग स्वरूप दर्शन प्राप्त गरेका थिए । पछि चण्ड नामक दैत्यले पनि त्यही स्थानमा तपस्या गरी चण्डेश्वर हुने वरदान पाएको उल्लेख छ । तर शक्तिको दुरुपयोग गर्दै उसले शिवमाथि नै आक्रमण गरेपछि पुनः देवीले उसको वध गरी संसारलाई मुक्त गरिन् ।
चण्डेश्वर शिव मन्दिर अग्लो स्थानमा अवस्थित, ढुंगाले बनेको, बज्रको छानो र ढलौटको गजुर भएको शिखर शैलीको मन्दिर हो, जसको मुख पश्चिमतिर फर्किएको छ । मन्दिरभित्र शिवलिंग विराजमान छ भने नजिकै चण्डेश्वरी माताको भव्य मन्दिर रहेको छ । सजिलै सवारीसाधन पुग्ने यस क्षेत्रमा वर्षभरि मेला लागिरहन्छ, विशेषगरी दसैंमा ठुलो मेला लाग्छ । शिवलिंगमा नित्य रुद्राभिषेक हुने गर्दछ । ६४ ज्योतिर्लिंगमध्ये एकका रूपमा मानिने यो क्षेत्र रक्तचन्दन वनका कारण पनि परिचित छ ।
यसरी काभ्रेपलाञ्चोक जिल्लाले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पहिचान बोकेको छ । यहाँका मठ–मन्दिर, जात्रा–पर्व र पुराणसँग जोडिएका किंवदन्तीहरूले आन्तरिक पर्यटनलाई अझ सशक्त बनाउने सम्भावना बोकेका छन् ।