
हरेक लेखकमा समयचेत हुनुपर्छ । लेखनमा अविराम गति हुनुपर्छ । गति भएन भने समय अघि जान्छ र लेखक पछि पर्छ । समय अघि र लेखक पछि प¥यो भने लेखकले समयलाई पक्रन सक्दैन । परिणामतः धेरै कुरा छुट्छन् र अघि र पछिको समयको बीचमा एउटा अपूरणीय खाडल सिर्जना हुन्छ । त्यो बीचको समयमा छुटेको कुरा फेरि पाउन सम्भव नहुन पनि सक्छ ।
लघुकथाकार महेन्द्र नेउपाने समयचेत भएका र लेखनमा गति मात्रै होइन, द्रुतगति भएका लघुकथाकार हुन् । ५५ दिनमा ५९ वटा लघुकथा लेख्नु चानचुने कुरा होइन । त्यसमा पनि एउटै विषयमाथि केन्द्रित भएर लेख्नु झन् कठिन कार्य हो । २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सेरोफेरोमा २०८२ साल पुस २७ गतेदेखि फागुन २२ गतेसम्ममा लेखिएका ५९ वटा फरक भाव र फरक प्रभावका लघुकथा समेटेर उनले हालसालै ‘चुनावी सेरोफेरो’ नामक लघुकथासंग्रह प्रकाशनमा ल्याएका छन् । यो संग्रहलाई सिर्जना अभियान समाजले प्रकाशन गरेको छ । नेउपानेको यसअघि ‘चन्द्रविनोद’ (लघुकथासंग्रह, २०८१) प्रकाशित छ ।
निश्चित समयमा त्यो समयलाई पक्रेर एउटा विशिष्ट विषयमा आफ्ना फरक विचार र फरक दृष्टिकोणबाट कथानक बुनेर फरक भाव सम्प्रेषण गरी तीव्रगतिमा लघुकथा लेख्ने सामथ्र्य लघुकथाकार महेन्द्र नेउपानेमा छ भन्ने प्रमाण बनेको छ– ‘चुनावी सेरोफेरो’ लघुकथासंग्रह । जेनजी विद्रोहपछि सत्तापलट भई राजनीतिमा नयाँ परिवर्तनपश्चात् बनेको चुनावी वातावरणमा केन्द्रित भएर लेखिएका लघुकथाहरूको गतिमा तीव्रता छ र तीक्ष्णता पनि छ । लघुकथामा निहित तीव्र भाव र द्रुत प्रभाव पार्न सक्ने सामथ्र्यले पाठकलाई रोमाञ्चित पनि बनाउँछ ।
लेखनमा गति र समयचेत दुवै भएका लघुकथाकार महेन्द्र नेउपानेका लघुकथामा समयचेत र गतिशीलता दुवै पाइन्छ । उनका लघुकथामा समयको आवाज छ । पठनका क्रममा उनका हरेक लघुकथामा समयको आवाज प्रतिध्वनित भइरहेको आभास हुन्छ । किनकि उनले कुनै एउटा निर्धारित समयसीमाभित्रको समयका एक–एक पललाई पक्रेर त्यो समयमा भए÷गरेका घटना र त्यसबाट सिर्जित परिणामलाई कथानक बनाएर सुन्दर एवं प्रभावशाली लघुकथा लेखेका छन् । अतः उनका लघुकथामा तत्कालीन समय र समाज प्रतिविम्बित भएको पाइन्छ । त्यो समयमा मान्छेले भोगेका भोगाइ र तिनका अनुभूतिलाई यथासम्भव सुन्दर कथ्यशिल्प, विम्ब–प्रतीक, उपमा, अलंकार, व्यंग्य, कटाक्ष र अन्योक्तिका माध्यमले प्रस्तुत गरेका छन् । सामाजिक र राजनीतिक विकृति–विसंगतिमाथि कठोर व्यंग्य प्रहार गरेका छन् । विम्ब–प्रतीक र अन्योक्तिको माध्यमबाट कसैलाई इंगित गर्ने वा संकेत गर्ने, कसैलाई सन्देश दिने र कसैलाई कटाक्ष गर्ने काम उनले आफ्ना लघुकथामा गरेका छन् । लघुकथाका पात्र र प्रवृत्तिमार्फत उनले प्रहार गरेको व्यंग्य, कटाक्ष र अन्योक्तिले समाज र त्यसभित्रका अनेक पात्र र प्रवृत्तिको सुधारमा मद्दत पुग्ने अपेक्षा पनि गर्न सकिन्छ ।
विशेषगरी चुनावकेन्द्रित लघुकथासंग्रह ‘चुनावी सेरोफेरो’का अधिकांश लघुकथामा पात्र र प्रवृत्ति पनि चुनावकेन्द्रित नै छन् । चुनावी प्रक्रियामा सहभागी विभिन्न किसिमका पात्रको चरित्र र आचरणलाई कथावस्तु बनाएर लेखिएका लघुकथाले समग्र चुनावी प्रक्रियालाई नै प्रतिविम्बित गरेको पाइन्छ ।
चुनावी सेरोफेरोभित्रका लघुकथाहरूले एउटा समयका पात्र, प्रवृत्ति र परिवेशको प्रतिनिधित्व गरेका छन् । हो, समय बितेपछि वा समय बदलिएपछि पात्र बदलिन्छन्, प्रवृत्ति बदलिन्छन् र परिवेश पनि बदलिन्छ । त्यसबेलाको समयले अघिल्लो समयसँग तादात्म्य नराख्न पनि सक्छ, तर त्यो समयको एउटा दस्ताबेज बन्न सक्छ, जुन आउने समय र समाजका लागि एउटा गतिलो मार्गदर्शन वा दिशानिर्देश पनि बन्न सक्छ । ‘चुनावी सेरोफेरो’ यस्तै मार्गदर्शन अथवा दिशानिर्देश गर्ने एउटा सुन्दर दस्ताबेज हो । ‘चुनावी सेरोफेरो’ यो वर्तमान समयको कथा हो । यसमा विगतको व्यथा छ भने भविष्यको कल्पना पनि छ । समाजका पात्रहरू धेरै परिवर्तन भएका छन्, तर प्रवृत्ति परिवर्तन नहुँदा समाज प्रताडित छ । यो प्रताडनाको अन्त्य गर्न पात्र मात्रै होइन, प्रवृत्ति पनि परिवर्तन हुनुपर्छ । यस्तै आग्रह र सन्देश पनि ‘चुनावी सेरोफेरो’भित्रका लघुकथाहरूमा छन् ।
लघुकथाकार महेन्द्र नेउपानेको कथ्यशिल्प सुन्दर र दमदार छ । कतै विम्ब र प्रतीक, कतै अन्योक्तिको प्रयोगमार्फत कथानकको उद्देश्यलाई प्रस्ट पार्ने प्रयास गरेका छन् । विम्ब र प्रतीकले लघुकथालाई कलात्मक र मिठासयुक्त बनाएको छ भने अन्योक्तिले पाठकलाई पनि ठाउँ–ठाउँमा सोचमग्न हुन र झसंग हुन बाध्य पारेको छ । कतै लघुकथामा हानिएको तीर आफैंप्रति पनि सोझिएको छ कि भनेर पाठकलाई झसंग पार्ने काम कुनैकुनै लघुकथाले गरेका छन् ।
संग्रहका लघुकथाहरूले समग्रमा चुनावी प्रतिस्पर्धामा उत्रेका विभिन्न राजनीतिक दलका पात्र, ती पात्रका चरित्र र प्रवृत्ति तथा चुनावका बेला तिनले देखाएको रवैयालाई कथानक बनाएका छन् । तिनले बाँडेका सम्भव–असम्भव सबैखाले आश्वासन, घरदैलो कार्यक्रमका नाममा नेता–कार्यकर्ताले देखाएको तमासा र तिनले गरेको नौटंकीलाई पनि लघुकथाहरूले समेटेका छन् । यसका साथै, नेता र राजनीतिक दलप्रति जनताको सोच, धारणा र समयक्रममा विकसित घटनाक्रमलाई पनि प्रस्तुत गरिएको छ । नेता र राजनीतिक दलप्रति समयक्रममा निर्मित सकारात्मक–नकारात्मक भाष्य, नवनेता र राजनीतिक दलबाट जनताले गरेका आशा र अपेक्षासमेत कथानक बनेर आएका छन् । समयले निर्दिष्ट गर्न खोजेको मार्ग र त्यसप्रति जनताको सरोकारका विषयहरू पनि संग्रहका लघुकथाहरूमा अभिव्यक्त भएका छन् ।
महेन्द्र नेउपानेका लघुकथामा प्रयोग गरिएका विम्ब र प्रतीक सदाबहार किसिमका छन् । अन्योक्तिको प्रयोग सीमित समयका लागि लोकप्रिय हुने र ती उक्ति अथवा संकेत पाठकले अनुमान गर्न सक्ने खालका छन् । समय–सान्दर्भिक अन्योक्तिले संकेत गरेको पात्र अथवा प्रवृत्तिलाई पाठकले तुरुन्तै अन्दाज गर्न सक्ने खालका छन् । तर समयकाल बितेपछि, सन्दर्भ फेरिएपछि अथवा नयाँ सन्दर्भ जोडिएपछि त्यस्तो अन्योक्तिले इंगित गरेको पात्र र प्रवृत्तिलाई चिन्न वा अन्दाज गर्न कठिन पनि हुन सक्छ । अतः अन्योक्तिको प्रयोग अलि जोखिमपूर्ण पनि छ ।
महेन्द्र नेउपानेको लघुकथासंग्रह ‘चुनावी सेरोफेरो’मा अन्योक्तिको अलि धेरै नै प्रयोग भएको छ । तर ती अन्योक्तिमा अत्युक्ति भने छैन । अन्योक्ति भनेको अलंकार हो । यसले सिर्जनामा सौन्दर्य थप्ने काम गर्छ । ‘आशा’, ‘झझल्को’, ‘विपथगामी’, ‘मेला’, ‘सूत्र’, ‘चर्को ध्वनि’, ‘महाभिडन्त’, ‘विषाक्तता’, ‘मनको बाघ’, ‘गरिमा’, ‘उक्सावट’ आदि लघुकथामा अन्योक्तिको सुन्दर प्रयोग छ ।
व्यंग्यार्थ अथवा कटाक्षभावमा लेखिएका लघुकथाहरूले पाठकलाई पठनको पर्याप्त आनन्द दिन्छन् । यसखाले लघुकथाहरूमा ‘आत्मीयता’, ‘ढाडे बिरालो’, ‘पुनरुत्थान’, ‘दुष्प्रशिक्षण’, ‘स्वच्छता’ आदि पर्दछन् । युवापुस्ताप्रति आशा र अपेक्षा जगाउने खालका लघुकथाहरूमा ‘बिचौलिया’, ‘ट्वाँ’, ‘उद्दीपक’ आदि पर्दछन् । यसैगरी ‘उपहार’, ‘मातृप्रेम’ आदि लघुकथामा प्रतीकात्मकता झल्किन्छ भने ‘वेदना’, ‘अनुभूति’ आदि कथामा सन्देश छन् । ‘भोलिका कर्णधार’, ‘पराभाव’, ‘खेल’ आदि लघुकथामा सांकेतिक भाव देखिन्छ ।
समयचेत नभएको, समयको आवाज प्रतिध्वनित नभएको र समाज प्रतिविम्बित नभएको लेखनी÷साहित्य सशक्त बन्न सक्दैन । समसामयिक समयचेत भएको लेखनीलाई मात्रै सचेत पाठकले आत्मसात् गर्ने र अनुमोदन गर्ने भएकाले लेखकहरू समय र समयको आवाजप्रति सचेत हुनैपर्छ र समाजप्रति उत्तरदायी हुनैपर्छ । यो सचेतनालाई आत्मसात् गरी लेखिएका लघुकथाकार नेउपानेका समसामयिक लघुकथालाई पाठकले अवश्य आत्मसात् गर्नेछन् र अनुमोदन गर्नेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ ।
यसो त संग्रहका सबै लघुकथा उत्कृष्ट छन् भन्ने होइन । छोटो अवधिमा लेखिएको र हतारमै प्रकाशन गरिएको यो संग्रहका कतिपय लघुकथाहरूमा गुणात्मकताको कमी महसुस पनि हुन्छ । कलात्मक कथ्यशिल्प, प्रतीकात्मक शीर्षक, कथानकमा तीव्रता र तीक्ष्णता, सरल भाषा र सहज प्रवाह, बोधगम्यता र सम्प्रेषणीयता यस संग्रहका लघुकथाहरूका सकारात्मक पक्ष हुन् ।