अमेरिकी संसदको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको असर नेपालका दलहरुमा पनि देखिएको छ । चीनको असहमतिबीच सभामुख न्यान्सीको ताइवान भ्रमणप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनालले बक्तव्य जारी गरेरै आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री खनालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै पेलोसीको भ्रमणको विरोध जनाएका छन् । नेकपा एकीकृत समाजवादीका नेता खनालसँगै नेकपा एमाले पनि उभिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पलोसीको ताइवान भ्रमणको विपक्षमा उभिन सरकारसँग आग्रह गरेका छन् । ताइवान चीनकै अभिन्न अंग भएकाले पेलोसीको भ्रमणप्रति आपत्ति जनाउनुपर्ने ज्ञवालीको भनाइ छ । तर अमेरिका र चीनको विवाद उत्कर्षमा लगेको यो भ्रमणबारे नेपाल सरकारका तर्फबाट भने आधिकारिक धारणा आएको छैन ।
सरकारको मौनतामा प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्टि जनाएको छ । यसअघि रुस र युक्रेनको युद्धबारे सरकारले लिएको निर्णयमा पनि एमालेको नेता खनालको असहमति थियो । नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । तर युक्रेनको पक्षमा मतदान गरेर नेपालले असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेको टिप्पणी भइरहेको छ । रुस र युक्रेन होओस् अथवा पेलोसीको ताइवान भ्रमणबारे सत्तारुढ र प्रमुख विपक्षीबीच फरक मत देखिएको छ । जबकी यी दुवै आजको तड्कारो विषय हुन् । किनकि चीन र अमेरिका भएर विश्व राजनीति ध्रुबिकरणतर्फ उन्मुख छ । तर नेपालले भने कुनैपनि पक्षमा उभिन नहुने परराष्ट्र नीति बिपरीत दलहरुका गतिविधि देखिएका छन् ।
विशेषगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको राजनीतिक शक्तिलाई पश्चिमातर्फ उभिएको आरोप लगाइएको छ । यसबारे पनि सरकारले बोलेको छैन । तर नेपालको भू–राजनीतिक अवस्थितिका कारणले दलहरुले अलग धारणा र अडान लिन जोखिमपूर्ण छ । शक्ति राष्ट्रले कुनै एउटा खेमालाई समातेर आफ्नो स्वार्थ लाद्ने खतरा बढी हुन्छ । तसर्थ अहिले विश्वभर देखिएको आर्थिक संकटबाट बच्न शक्ति सन्तुलनको आवश्यकता छ । त्यसका लागि सवैभन्दा पहिले दलहरुबीच साझा मत बन्नुपर्ने हुन्छ । तर मुलुकको आन्तरिक शक्ति संघर्षको छाया परराष्ट्र नीतिमा पर्ने जोखिम बढेको छ । उक्त जोखिम टार्न पनि दलहरु जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ । नेपालको परराष्ट्र नीतिमै अडिग रहेर छिमेक सम्बन्ध जोगाउँदै मुलुकका संकटतर्फ जान रोक्ने भूमिकाको खाँचो छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies