काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले नेपालस्थित साउदी अरेबियाको दूतावासले प्रणाली अपडेट गर्ने भन्दै विभिन्न बहानामा भिसा प्रक्रियामा आलटाल गरेपछि गम्भीर समस्या झेल्नुपरेको बताएका छन् । रोजगारीका लागि साउदी अरब जाने कामदारको लागि नेपालस्थित साउदी दूतावासले भिसा जारी गर्दै आएको छ ।
भिसा प्रक्रियामा अनिवार्य मानिएको साउदी आईडी नवीकरण नभएर लामो समयदेखि समस्या झेलिरहेका व्यवसायीहरूले दूतावासले प्रणालीमा अपग्रेड गर्ने भन्दै राहदानी लिन छोडेपछि आफूहरू थप समस्यामा परेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । उनीहरूले दूतावासले समस्याको तत्काल समाधान नदिए नेपाली कामदार रोजगारीका लागि उक्त मुलुक पठाउन नसकिने अवस्था उत्पन्न हुने खतरा देखिएको बताएका छन् ।
नेपालस्थित साउदी दूतावासले भिसाका लागि राहदानी नलिदा लामो प्रयासपछि प्राप्त गरे गरेकोे डिमाण्डको म्याद नै समाप्त हुने र रोजगारदातासँगको सम्बन्ध पनि विग्रने अवस्था उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ ।
नेपालले संस्थागतरूपमा विश्वका १ सय १० मुलुकमा कामदार पठाउने गरेको छ । त्यस मध्ये खाडीका साउदी अरबसहित ६ मुलुक र मलेसिया प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् । तर नेपालस्थित साउदी दूतावासबाट हुने भिसा प्रक्रियामा सबैभन्दा झन्झटिलो र कतिपय अवस्थामा अपमानजनक रहेकोे व्यवसायीहरूको भनाइ छ । अन्य देश प्रविधि मार्फत अनलाइनबाटै भिसा प्रक्रियामा अभ्यस्त भइसक्दा साउदी दूतावास ‘म्यानुअल’ अर्थात कागजात सहितको फाईल प्रक्रियामा अल्झेर काम गरिरहेको व्यवसायीहरूको भनाइ छ ।
सानो कागज छुटेपनि आफ्नो मुलुकको आधिकारिक सरकारी निकायले प्रमाणित गरेकोे कागज नै माग गरिने गरेकोे कारणले लामो समयदेखि खडा गरिएको समस्याको समाधान हुन नसकेको व्यवसायीहरूले बताउने गरेका छन् । दूतावासले अनावश्यक समस्या खडा गरेको भन्दै आफूहरूले समाधानका लागि परराष्ट्र मन्त्रालयको समेत ध्यानाकर्षण गराएको तर सामान्य प्राविधिक समस्या हुँदा पनि त्यसैको बहानाबाजी गरेर दूतावासले कामदारको राहदानीमा भिसा लगाउन असहयोग गर्ने व्यवसायीहरुको भनाइ छ ।
अरु त अरु दूतावासमा माग गरिएका सबै सक्कली कागजात द्रुत गतिमा साउदीबाट मगाएर ती सक्कल कागजात र राहदानी बुझाउँदा पनि दूतावासका सम्बन्धित अधिकारीहरुले सक्कल कागजात त लिने तर राहदानी भने नलिने गरेको पाइएको छ । ती अधिकारीले राहदानीका लागि पछि खबर गरिनेछ भन्ने तर लामो समय बित्दा पनि नबोलाएर मेडिकल एक्सपाएर र कोटा नै गुम्ने अवस्था आउन थालेको पीडित व्यवसायीहरुले मध्यान्हलाई आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
नेपालस्थित साउदी दूतावासले कामदारको भिसा प्रक्रियामा व्यवसायीहरुलाई उपलब्ध गराएको साउदी आईडीको बार कोड कार्यान्वयन गर्ने गरेकोे छ । तर पछिल्लो समयमा बारकोड मिलेन भनेर अपमानजनक ढंगले व्यवहार गरेको कतिपय व्यवसायीहरुको भनाइ छ । साउदी अरेबियाका तत्कालीन राजदूत मुसैद एस अल मारवानी नेपाल आउँदा साउदी अरेवियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेको कारण नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा विशेष ध्यान दिने बताएका थिए । उनी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किसक्दा समेत दूतावासको व्यवहारमा कुनै परिवर्तन नभएको बरू थप अनुदार भएको व्यवसायीहरूको गुनासो छ ।
नाम नछाप्ने शर्तमा एक व्यवसायीले भने, ‘साउदी दूतावासले नेपाली भूमिमै व्यवसायीहरुलाई चरम अपमान गरेको छ । विभिन्न बहानाबाजी गरेर आफ्नै भूमिमा व्यवसायी अपमान हुनु लज्जाको विषय भएको छ । हाल करिब ४ लाख नेपाली कामदार कार्यरत रहेका छन् ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies