
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग समसामयिक राजनीतिक विषयमा परामर्श बैठक गरेका छन् ।
पार्टी सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि कोइराला पक्षले आन्तरिक छलफल अघि बढाएको हो ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ ।
बैठकमा हालै केन्द्रीय सदस्यमा मनोनीत भएका जीवन परियार, गोविन्दराज पोखरेल, दिनेश कोइराला तथा उर्मिला थपलिया समेत सहभागी रहेको स्रोतले जनाएको छ ।
छलफलमा सहभागी नेताहरूले केन्द्रीय सदस्य मनोनयनको निर्णयअघि पर्याप्त आन्तरिक परामर्श नभएको विषय उठाएको बताइएको छ ।
सभापति थापाले मनोनयन गरेका १९ केन्द्रीय सदस्यमध्ये सात जना कोइराला पक्षसँग निकट मानिने नेताहरू रहेका छन् ।