परराष्ट्रमन्त्री डा.नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । बेइजिङ भ्रमणमा रहेका मन्त्री खड्काले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख यीसँग कुटनैतिक भेटवार्ता गरेका हुन् । मन्त्री खड्काको यो पूर्वनिर्धारित भ्रमण हो । तर घटनाक्रमले अर्थपूर्ण बनाएको छ । किनकि गएको १७ साउनमा मात्रै अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकी छन् । चिनियाँ सरकारको अर्को आपत्तिबीच पेलोसीले ताइवान भ्रमण गरेकी छन् । कडा सुरक्षा घेराभित्र ताइवान पुगेकी पेलोसीले ताइवानको पक्षमा अभिव्यक्ति दिइन् । यो भ्रमणकै कारण अमेरिक र चीन बीचको मतभेद झनै चर्काएको छ । पूर्वी एसिया भ्रमणका क्रममा पेलोसी ताइवान पुगेपछि चीनले अमेरिकासँग कडा आपत्ति जनाको छ भने आफ्ना समर्थक देशहरुको प्रतिक्रिया खोजिरहेको देखिन्छ ।
त्यसैले मन्त्री खड्काको यो भ्रमण बढी चासोमा छ । होइन भने नेपालका उच्च अधिकारीहरुले चीन भ्रमण लगातार गरिरहन्छन् । केही समय अगाडि मात्रै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी नेता देव गुरुङ लगायतले चीन भ्रमण गरेका थिए । कम्युनिष्ट नेता मात्रै नभएर नेपाली कांग्रेसकै नेताहरुले पनि निरन्तर चीन भ्रमण गर्दै आएका छन् । त्यसको तुलनामा चिनियाँ पक्षबाट भने नेपालको भ्रमण कम हुने गरेको छ । दुई वर्ष अगाडि चिनियाँ राष्ट्रपति सी जिनफिङले गरेको नेपाल भ्रमण २३ वर्षपछि भएको थियो । तर केही वर्ष यता भने चिनियाँ भ्रमण पनि बढेको छ ।
चिनियाँ पक्षको भ्रमण बढ्नुमा पनि समर्थन बढाउनु रहेको पनि लुक्दैन । किनकि अमेरिकाले एमसीसी अगाडि बढाएपछि चीनले बीआरआईलाई महत्वकांक्षी अन्तरदेशीय परियोजनाका रुपमा अगाडि बढाएको छ । यसबाट चीनले अमेरिका भन्दा आफूलाई नेपालले साथ देओस् भन्ने चाहन्छ । मन्त्री खड्काले समकक्षी यीसँगको भेटमा पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । चीनको आन्तरिक मामला र सार्वभौमताप्रति प्रतिबद्ध रहेको मन्त्री खड्काले बताएका छन् । तर सँगै अमेरिकी परियोजना विवादका बीच अगाडि बढ्दा बीआरआईले भने गति लिन नसकेको नेपालकै अधिकारीहरुले बताउने गरेका छन् । जबकी नेपालसँग भू–राजनीतिक शक्ति सन्तुलन कायम गर्दै अगाडि बढ्नुपर्ने बाध्यता छ । त्यो बाटो भनेको असंलग्न परराष्ट्र नीतिमै अडिग रहनुपर्नेछ । तर परराष्ट्र नीति संस्थागत हुन नसक्दा सरकार परिवर्तन भएसँगै मुलुकको झुकाव बढ्ने हुँदा मुलुकको राजनीति अस्थिर बन्दै आएको छ । यसतर्फ ध्यान दिएर नेपालले कुटनैतिक सम्बन्ध स्थापित गरिनु आजको विश्व शक्ति संघर्षका बेला उचित मार्ग हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies