
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आफ्नो पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने दिशामा काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताले दिएको विश्वासकै आधारमा रास्वपा हाल राज्य सञ्चालनमा अग्रसर भएको उल्लेख गरे। उनका अनुसार मतदाताको भरोसाका कारण पार्टीले उल्लेखनीय जनसमर्थन प्राप्त गरेको हो ।
पराजुलीले रास्वपाले निर्वाचनका समयमा सार्वजनिक गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्ने प्रक्रियामा रहेको बताए । साथै, पार्टीले आफ्ना मात्र नभई अन्य राजनीतिक दलका चुनावी घोषणापत्रसमेत अध्ययन गरेर नीति निर्माणमा प्रयोग गरेको दाबी गरेका छन् ।
उनले विपक्षी दलहरूलाई लक्षित गर्दै विगतका निर्वाचनपछि आफ्ना घोषणापत्र कति कार्यान्वयन भए भन्ने प्रश्न उठाए। उनका अनुसार जनतासँग गरिएका प्रतिज्ञाहरूको निरन्तर समीक्षा र कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता छ ।
उनले सरकारको कार्यप्रगतिबारे बोल्दै विभिन्न नीति तथा कार्ययोजनामार्फत काम अघि बढिरहेको पनि उल्लेख गरेका छन् ।
परम्परागत डिप्लोमेसीलाई त्यागेर इकोनोमिक डिम्पलोमेसीमा डिपार्चर गर्ने भन्दै पराजुलीले सरकारले सुशासन र सेवा प्रवाहको सुरुवात गरिसकेको दाबी गरे । उपनेता पराजुलीले अहिलेको सरकारले कसैको पार्टी फुटाउन अध्यादेशहरू नल्याएको भन्दै राष्ट्रपतिलाई अध्यादेश रोक्न प्रतिपक्षले गरेको आग्रहप्रति कटाक्ष गरे ।
‘रास्वपा सरकारले प्रतिपक्ष दल फुटाउन अध्यादेश ल्याएको छैन । चित्त नबुझे प्रतिस्थापन विधेयकमार्फत मत राख्न सक्नुहुन्छ’, पराजुलीले आफूहरू अनुभवमा कच्चा भएको स्वीकार गरे । ‘राजनीतिमा यहाँहरुजति भोटो फटाएका छैनौ, अनुभवमा कच्चा छौ तर यो पुस्ताको नियतमाथि शङ्का नगर्नुस् ।’ पराजुलीले दलको कोटामा नियुक्त भएकी कामु प्रधानन्यायाधीश सपना मल्लको कार्यशैली हेर्दा लाज नै लजाएको भन्दै कस्तो न्यायको अपेक्षा गरेको भन्दै प्रश्न गरे ।