२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

हारलाई संकल्पमा बदल्न शंकर पोखरेलको आह्वान

Nada
२०८३ वैशाख २९ गते १८:२६
Shares
हारलाई संकल्पमा बदल्न शंकर पोखरेलको आह्वान

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा प्राप्त नतिजालाई निराशामा रूपान्तरण नगरी संगठन सुदृढीकरणको आधार बनाउनुपर्ने बताएका छन् ।

ncell

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन-आश्रित स्मृति दिवसको तयारी बैठकलाई सम्बोधन गर्दै उनले पराजयबाट पाठ सिक्दै संगठनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

पोखरेलले पार्टीले लामो समयदेखि बल्खुस्थित पुरानो कार्यालय परिसरमा स्मृति कार्यक्रम गर्दै आएको स्मरण गर्दै यस वर्ष पनि देशव्यापी रूपमा रचनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । पार्टीले यसका लागि आवश्यक परिपत्रसमेत जारी गरिसकेको उनले उल्लेख गरे ।

उनका अनुसार चुनावी परिणामलाई केवल निराशाको दृष्टिले हेर्न नहुने भन्दै संगठनात्मक सक्रियता नै पुनः सफलताको आधार हुने धारणा राखे। पार्टी संरचना र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन पनि उनले आग्रह गरे ।

महासचिव पोखरेलले हालको निर्वाचन परिणामलाई कुनै एक दलको मात्र होइन, मूलधारका राजनीतिक शक्तिहरूका लागि चुनौतीपूर्ण अवस्था भएको टिप्पणी गरे ।

पार्टीभित्रका विषय बाहिर लैजाँदा समाधानभन्दा उल्टै असन्तुष्टि बढ्ने उल्लेख गर्दै उनले आन्तरिक विषयलाई संस्थागत ढंगले समाधान गर्नुपर्नेमा जोड दिए। सुझाव र असन्तुष्टि पार्टी संरचनामै राख्नुपर्ने उनको भनाइ थियो ।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, राजधानी विशेष प्रदेश इन्चार्ज डा.राजन भट्टराई तथा विभिन्न जनसंगठनका अध्यक्ष र पार्टी संरचनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर