कञ्चनपुर : भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन् । कतारमा झण्डै डेढ दशक बिताएर फर्किएका उनले घरमै १३ लाख रूपैयाँ लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरे ।
चौधरीको फार्ममा चिनियाँ, निसान, डिउरो, हेमसार, योगसार र धराने कालो बँगुर जातका १० वटा बँगुर, चार हजार ब्रोइलर कुखुरा, एक सय स्थानीय जातका कुखुरा र २५ वटा बाख्रा छन् । गत वैशाखमा मात्रै उनले ३५ वटा बँगुरका पाठा बिक्री गरी र एक लाख पाँच हजार आम्दानी गरे । अझै फार्ममा २२ बँगुरका पाठा बेच्नका लागि तयारी अवस्थामा छन् ।
गत महिना मात्रै चौधरीले र तीन हजारको कुखुरा बिक्री गरे । फार्ममा पालिएका ब्रोइलर कुखुरा चार पटक बिक्री गरिसक्नु भएका उनलाई शुरुको दुई पटक खासै नाफा नभए पनि पछिल्ला दुई पटक भने सोचेभन्दा राम्रै नाफा भएकोे छ । वर्षमा चौधरीले फार्मबाट रु पाँच लाख आम्दानी गर्दै आएको र यसबाट परिवारको खर्च सहज रुपमा चलेको छ ।
‘फार्ममा रहेका बँगुर, बाख्रा, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरा बेच्नका लागि बजारको निकै अभाव छ,’ उनले भने, ‘ग्राहक खोज्दै बजार चहार्दै हिँडनु परेको छ । निकै प्रतिस्पर्धा हँुदा सस्तोमै फार्ममा पालिएका पशुपक्षी बेच्नुपर्ने बाध्यता छ ।’
फार्ममा रहेका पशुपक्षी बिक्रीका लागि बजार सहज भए व्यवसायलाई विस्तार गर्न सकिने चौधरीले बताए । फार्ममा बढी लगानी गरे डुब्ने डर छ । बजारको अवस्था हेरेर पशुपक्षी पालिएको उनले बताए । २०७७ मा वैदेशिक रोजगारीबाट घर फर्केपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय लिएर फार्म सञ्चालन गरेको चौधरीको भनाइ थियो । ‘विदेशी भूमिमा पसिना चुहाएर १८ घण्टाभन्दा बढी चर्को घाममा काम गर्नुपर्दथ्यो,’ उनले भने, ‘त्यही दुःख सम्झदै स्वदेशमै काम गर्ने निधो गरी फर्केको हुँ ।’
फार्म सञ्चालन गरेपछि परिवारको खर्च चलेको र फार्ममा विहानीको झिसमिसेसँगै झमक्क साँझ नपरुञ्जेलसम्म काम गर्ने गरेको चौधरीले बताए । फार्ममा उनीसँगै उनकी श्रीमती र घरका अन्य सदस्यलेसमेत साथ दिँदै आएका छन् । कोरोना संक्रमण फैलिएपछि बजार नपाउँदा फार्ममा पालिएका पशुपक्षी घाटा खाएर बेच्नु परेको दुःखेसो चौधरीको थियो । ‘कोरोनाका कारण व्यवसाय नै थला प¥यो,’ उनले भने, ‘लगानी आधा डुब्यो । कोरोनाको संक्रमण घटेसँगै हाल व्यवसायले गति लिन थालेको छ ।’
अझै व्यवसायलाई विस्तार गर्ने चौधरीको सोच छ । त्यसका लागि लगानी जुटाउन विभिन्न बैंकमा पुगेपनि ऋण भने पाउन कठिन भएको छ । ‘बैंकले आर्थिक मन्दिका कारण ऋण दिन बन्द गरेका छन्,’ उनले भने, ‘ऋण पाइए व्यवसायलाई विस्तार गरी नगरपालिकामै नमूना पशुपक्षी फार्म सञ्चालन गर्ने योजना छ ।’ सरकारी अनुदानसमेत चौधरीले हालसम्म पाउन सकेका छैनन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies