
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने प्रथम महाधिवेशनमा देशभरबाट २५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने तयारी गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी स्थापना दिवसको सन्दर्भ पारेर महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई केन्द्रीय समितिले अनुमोदन गरेको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
महाधिवेशनको मिति घोषणा भएसँगै पार्टीको केन्द्रीय समिति आयोजक समितिमा परिणत भएको छ । साथै महाधिवेशनको व्यवस्थापन र सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको पार्टीले जनाएको छ ।
रास्वपाले ७७ वटै जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखेको छ। त्यसका लागि प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।
निर्धारित कार्यक्रमअनुसार जेठ २६ गते बागमती प्रदेश, २७ गते कोशी, २८ गते मधेश, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली तथा असार १ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन आयोजना गरिनेछ ।
पार्टीले स्थानीय तहस्तरमा पनि अधिवेशनको तयारी अगाडि बढाएको जनाएको छ। कुनै पालिकामा अधिवेशन सम्पन्न हुन नसके हाल कार्यरत पालिका संयोजकलाई नै महाधिवेशन प्रतिनिधि बनाइने व्यवस्था गरिएको नेता परियारले बताए ।