मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं, २७ साउन । सरकारको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेसले आज केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । बिहान ९ बजे बोलाइएको बैठकमा दल दर्ताबारे निर्णय हुने प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनका अनुसार, चुनावी कार्यक्रमबारे अन्य निर्णय पनि बैठकले गर्नेछ ।
कांग्रेसले आगामी भदौ २ देखि २४ गतेसम्म देशब्यापी अभियान सञ्चालन गर्ने, साउन ३० र ३१ ग्ते जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ । यसबारे पनि छलफल गर्ने प्रवक्ता महतले बताए । कांग्रेसले प्रशिक्षण र अभियानलाई चुनावी तयारीकै रुपमा लिएको छ ।
आफू नेतृत्वको गठबन्धनले भने यसअघि नै चुनावी तयारीबारे निर्णय गरिसकेको छ । गएको २० साउनमा गठबन्धनका शीर्ष नेताहरु सम्मिलित बैठकले सिट बाँडफाँटबारे निर्णय लिन ११ सदस्यीय कार्यदल गठन गरेको छ । पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलको बैठकले सिट भागबण्डाबारे सैद्धान्तिक सहमति नै गरिसकेको छ ।
पाँच दलीय गठबन्धनमा ०७४ को चुनावको नतिजा, समानुपातिक मत, गएको स्थानीय चुनावमा पाएको मत र दलहरुको संवेदनशीलतालाई आधार बनाएर सिट बाँडफाँट गर्ने सहमति गरिसकेको छ । गठबन्धनको निर्णयपछि दलगत निर्णय गर्ने क्रममा कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । नेकपा एकीकृत समाजवादीले भने चुनाव केन्द्रीत दुई महत्वपूर्ण निर्णय गरिसकेको छ । घोषणापत्र मस्यौदा निर्माणका लागि गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको समिति गठन गरेको छ ।
टिकट वितरणको मापदण्ड र विधि बनाउने जिम्मेवारी महासचिव बेदुराम भुसाललाई दिइएको छ । अर्का सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र पनि चुनाव केन्द्रीत गतिविधि शुरु भइसकेको छ । तर निर्णय चाहिँ गरेको छैन । जनता समाजवादी पार्टी (जसपा) मा विभाजन भएकाले औपचारिक बैठक नबसेपनि तयारी भइरहेको नेताहरुले बताएका छन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेले पनि चुनावी तयारी अगाडि बढाएको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक राखेर निर्वाचन परिचालन समिति नै गठन गरिसकेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा जम्बो निर्वाचन परिचालन समिति गठन गरेको हो । यो समितिमा केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, केन्द्रीय निकायका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव, विभागका सचिवहरु रहनेछन् । ओली सहित आठ पदाधिकारी रहेको चुनावी घोषणापत्र मस्यौदा समिति गठन पनि गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies