
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारीलाई औपचारिक गति दिने उद्देश्यले कार्यतालिका निर्माण समिति गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना तयार गर्न तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।
निर्णयअनुसार उक्त समितिमा उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शमशेर राणा र सह-महामन्त्री प्रकाश रिमाल रहेका छन् । समितिलाई आगामी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने गरी विस्तृत महाधिवेशन कार्यतालिका तयार पार्ने जिम्मेवारी दिइएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार महाधिवेशन, समसामयिक राजनीतिक अवस्था तथा हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।
बैठकमा सातै प्रदेशबाट प्राप्त सुझाव तथा समीक्षा प्रतिवेदनहरू सचिवालयमार्फत महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि विस्तृत छलफलसमेत गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
उनका अनुसार पार्टीलाई महाधिवेशनतर्फ केन्द्रित गर्दै निर्वाचनका कारण स्थगित भएका स्थानीय तह र जिल्ला अधिवेशनहरू पुनः सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।