२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड

Nada
२०८३ जेठ ३ गते १६:०२
Shares
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान राजनीतिक परिस्थितिमा दलभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

ncell

नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा आइतबार काठमाडौँमा बोल्दै उनले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने व्यक्तिको मुख्य दायित्व देश र लोकतन्त्रसँग जोडिएका विषयमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले आफूलाई बिपी कोइरालाको राजनीतिक विरासतसँग जोडिएको जिम्मेवारीमा रहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वले राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक मूल्य र नागरिकको अपेक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

थापाले कांग्रेसको इतिहास लोकतन्त्र, नागरिक स्वतन्त्रता, आत्मसम्मान र सहभागितामूलक शासन व्यवस्थाका लागि भएको संघर्षसँग जोडिएको उल्लेख गरे। उनले विगतका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिको योगदान, त्याग र संघर्ष रहेको भन्दै त्यसको उद्देश्य नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताए ।

उनका अनुसार अहिले देशका मूलभूत सवालमा पार्टीलाई स्पष्ट रूपमा उभ्याउन कांग्रेसभित्र व्यापक छलफल आवश्यक छ। साथै पार्टीका समर्थक र शुभेच्छुकबीच संवाद विस्तार गरेर उनीहरूको विश्वास पुनः स्थापित गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

विशेष महाधिवेशनको प्रस्तावबारे बोल्दै थापाले कांग्रेसलाई केवल संगठनात्मक संरचनाभित्र सीमित दलका रूपमा बुझ्न नहुने धारणा राखे। उनले पार्टीसँग भावनात्मक रूपमा जोडिएका समर्थक र शुभेच्छुकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

थापाले पछिल्लो निर्वाचनमा कांग्रेसले ठुलो संख्यामा शुभेच्छुक र समर्थकको विश्वास गुमाएको उल्लेख गर्दै उनीहरूमाझ पुनः पुगेर भरोसा दिलाउने आवश्यकता रहेको बताए । पार्टीप्रति नागरिकको आकर्षण बढाउन कांग्रेसले आफ्नो मूल राजनीतिक मूल्य र उद्देश्य पुनः स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर