
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।
३३औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आह्वान गरेका हुन् । उनले सत्तत्रारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाए ।
सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गरे । महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।
उनले सरकारका मन्त्रीहरुको सम्पतीमाथि समेत प्रश्न गरे । उनले मन्त्रीहरुले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै के मा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ ? भन्दै प्रश्न समेत गरे ।