
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपनेता एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिनअघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमायाचना गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै उक्त दुःख व्यक्त गरेका हुन् । सो अवसरमा उनले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङलाई स्मरण गर्दै उनले सिकाएको संसदीय अभ्यास र मर्यादाको पाठले आजको प्रक्रियामा मार्गनिर्देश गरेको बताए ।
‘प्रतिनिधि सभा नियमावली २०८३’ को मस्यौदामाथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ । उनले सन् १२१५ को म्याग्नाकार्टादेखि नेपालको २०१६ सालको पहिलो संसदीय अभ्यास हुँदै हालसम्मका सातवटा नियमावलीहरूको विकासक्रमको चर्चा गरे । उनले यो मस्यौदाले संसदीय प्रक्रियालाई अझ बढी उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने लक्ष्य राखेको समेत स्पष्ट पारे ।
नेपालको संविधानको धारा १०४ को उपधारा (१) बमोजिम गठित १५ सदस्यीय मस्यौदा समितिले तयार पारेको यो नियमावलीमा सबै राजनीतिक दलहरूको समानुपातिक प्रतिनिधित्व र सहमति रहेको उनले जानकारी दिए ।
नियमावलीमाथिको सैद्धान्तिक छलफलमा १७ जना सांसदहरूले आफ्ना धारणा र सुझावहरू राखेका छन् । पराजुलीले सांसदहरूबाट आएका रचनात्मक सुझावहरूलाई धन्यवाद दिँदै नियमावलीलाई थप समृद्ध बनाउन संशोधनको प्रक्रिया सुरु भएको बताए ।
सैद्धान्तिक छलफल समाप्त भएसँगै नियमावलीमाथि संशोधन प्रश्ताव पेस गर्न ७२ घण्टाको समय सीमा प्रारम्भ भएको छ । सांसदहरूले उठाएका प्रश्न र सुझावहरूलाई समितिमा पुनः छलफल गरिने र संशोधनहरू परेपछि आवश्यकताअनुसार परिमार्जन गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।