२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

रोबोटमय बनिरहेको संसार

Nada
ज्योति भाष्कर
२०८३ जेठ ५ गते ०६:००
Shares
रोबोटमय बनिरहेको संसार

हालै एउटा चकित पार्ने समाचार सार्वजनिक भयो– एक रोबोटले म्याराथन दौडमा मानिसको विश्व कीर्तिमानलाई चुनौती दियो । लगभग यही समयमा, कृत्रिम बुद्धिमत्ता (एआई)युक्त अर्को रोबोटले टेबल टेनिसमा उत्कृष्ट मानव खेलाडीलाई पराजित गर्‍यो । रोबोटसँग मानिसमा जस्तो अनुभव त थिएन, तर उसले आफ्नो कमजोरीलाई अत्यन्त तीव्र र निरन्तर सटिक प्रतिक्रियामार्फत पूर्ति गर्‍यो । यी घटनाले एउटा ठुलो परिवर्तनको संकेत गरिरहेका छन् । पहिलोपटक यस्तो महसुस हुन थालेको छ कि खेलजस्तो मानवको सबैभन्दा विशेष क्षेत्रभित्र पनि मेसिनहरूले प्रवेश गरिसकेका छन् ।

तर वास्तवमा खेल रोबोटिक्सको उद्देश्य मानिससँग प्रतिस्पर्धा गर्नु मात्र होइन, यसको मुख्य लक्ष्य भनेको मेसिनले कसरी निरन्तर बदलिने र अनिश्चित वातावरणमा काम गर्न सिक्छन् भन्ने बुझ्नु हो । साथै, यसले मानव प्रदर्शनलाई कसरी प्रभाव पार्न सक्छ भन्ने अध्ययन पनि महत्वपूर्ण छ ।

रोबोटलाई प्रशिक्षण दिने तरिका मानिसभन्दा पूर्ण रूपमा फरक हुन्छ । मानिस अभ्यास, प्रशिक्षकको मार्गदर्शन र अनुभवबाट सिक्छन् । उनीहरू परिस्थितिअनुसार आफूलाई ढाल्दै जान्छन् । तर रोबोटलाई भने सिमुलेसन, डाटा र नियन्त्रण एल्गोरिदममार्फत प्रशिक्षण दिइन्छ । उसलाई वस्तु पहिचान गर्ने, गतिसम्बन्धी अनुमान गर्ने र शरीरका विभिन्न भागबीच समन्वय कायम गर्ने सीप सिकाइन्छ । मानव खेलाडीका गतिविधिहरू रेकर्ड गरेर रोबोटलाई त्यस्तै चाल र प्रतिक्रिया सिकाइन्छ । अहिले यस्ता रोबोटहरू मानव खेलाडीलाई अझ प्रभावकारी प्रशिक्षण दिन पनि प्रयोग हुन थालेका छन् ।

खेलकुदमा एउटा ठुलो चुनौती भनेको प्रभावकारी र सन्तुलित अभ्यास योजना तयार गर्नु हो । खेलाडीलाई सीप निखार्न निरन्तर अभ्यास आवश्यक पर्छ, तर अभ्यास यति धेरै दोहोरिनु हुँदैन कि त्यो अनुमान गर्न सकिने बनोस् । अर्कोतर्फ, यदि अभ्यास अत्यधिक फरक–फरक र अव्यवस्थित भयो भने खेलाडी केन्द्रित रहन सक्दैन । त्यसैले सन्तुलन अत्यन्त आवश्यक हुन्छ । यही ठाउँमा रोबोटिक्स उपयोगी बन्छ । एउटा रोबोटिक प्रशिक्षण साझेदारले एउटै क्रियालाई अत्यन्त तीव्रता र सटीकताका साथ बारम्बार दोहोर्‍याउन सक्छ, साथै त्यसमा नियन्त्रित परिवर्तन पनि ल्याउन सक्छ ।

उदाहरणका लागि, रोबोटिक टेनिस सर्भरले विश्वस्तरीय खेलाडीको गति र शक्तिको ठीक नक्कल गर्न सक्छ । साथै, उसले बलको गति, दिशा र खस्ने स्थानलाई योजनाबद्ध रूपमा परिवर्तन गरेर खेलाडीलाई हरेकपटक नयाँ तर नियन्त्रणभित्रको चुनौती दिन सक्छ । खेल विज्ञानमा यसलाई ‘प्रतिनिधि सिकाइ वातावरण’ भनिन्छ, जहाँ अभ्यासले वास्तविक खेलको जस्तै परिस्थिति निर्माण गर्छ । यस्तो वातावरण तयार गर्नु परम्परागत प्रशिक्षकका लागि कठिन हुन सक्छ, तर रोबोटिक्सले यसलाई धेरै सहज र प्रभावकारी बनाइदिएको छ ।

अब प्रश्न उठ्छ– के रोबोट कहिल्यै ‘महान् खेलाडी’ बन्न सक्छ ? विशेषज्ञहरूका अनुसार आगामी दशकमा रोबोट अझ फुर्तिला, शक्तिशाली र कठिन परिस्थितिमा काम गर्न सक्षम हुनेछन् । आज चुनौती मानिएका काम जस्तै ः असमान जमिनमा सन्तुलन मिलाएर दौडिनु वा अत्यन्त सटिक रूपमा बल समात्नु र फ्याँक्नु भोलिका दिनमा सहज बन्न सक्छन् ।

तर रोबोटका केही आधारभूत सीमाहरू भने रहनेछन् । खेलमा उत्कृष्टता हासिल गर्नु केवल प्राविधिक सटिकताको विषय होइन, यसमा सिर्जनशीलता, दबाबमा सही निर्णय लिन सक्ने क्षमता र बदलिँदो परिस्थितिअनुसार आफूलाई ढाल्ने कला आवश्यक हुन्छ । साँचो खेलाडी त्यो हो, जसले अनुभव, भावना र परिस्थितिबीच सन्तुलन मिलाउँदै प्रदर्शन गर्छ । रोबोटलाई कुनै विशेष काममा दक्ष बनाउन सकिएला, तर उसले मानिसजस्तो भावनात्मक तालमेल महसुस गर्न सक्दैन । यही कारणले केही क्षेत्रमा रोबोट मानिसभन्दा अगाडि देखिए पनि उनीहरू ‘महान्’ बन्न सक्दैनन् ।

त्यसैले रोबोटले खेलाडीको स्थान लिनेभन्दा पनि खेलकुदको वातावरणलाई अझ उन्नत बनाउने सम्भावना बढी छ । वास्तविक अवसर रोबोट च्याम्पियन बनाउनुमा होइन, मानव प्रदर्शनलाई अझ गहिरोसँग बुझ्ने र खेलाडीलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा लुकेको छ ।

(अमर उज्यालाबाट अनुवादित ।)

सम्बन्धित खबर