
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै प्रतिनिधिसभामा गम्भीर आपत्ति प्रकट गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रीहरूको सदनमा अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको बेवास्ता गरिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् । अधयक्ष साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ को पालना नभएकोतर्फ सभामुखको ध्यान आकृष्ट गराए ।
उक्त नियमावली अनुसार सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रावधान भएपनि महिनौंदेखि सोधिएका प्रश्नहरू अनुत्तरित रहेको उनले बताए । सरकारको यो कार्यले संसदीय मर्यादामाथि नै प्रश्न उठाएको उनको तर्क थियो ।
उनले सरकार जनता र संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै मन्त्रीहरू आफ्नो कर्तव्यबाट भागिरहेको आरोप लगाए । जनताको मत जितेर आएका प्रतिनिधिहरूको प्रश्नको सामना गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै उनले मन्त्रीहरूलाई सदनमा उपस्थित गराउन सभामुखसँग कडा रुलिङको माग समेत गरे ।
संसदीय मर्यादा कायम राख्न र मन्त्रिपरिषद्का सदस्यहरूलाई प्रश्नोत्तर सत्रमा अनिवार्य सहभागी गराउन उनले जोडदार माग गरे । मन्त्रीहरू स्वयं उपस्थित नभई अन्य प्रतिनिधि पठाइनुले नियमावलीको ठाडो उल्लंघन भएको उनको भनाइ थियो ।