२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रास्वपा सांसदकी ‘मोनिटर’ क्रान्तिशिखा

Nada
सपना बोहरा
२०८३ जेठ ८ गते ०६:१५
Shares
रास्वपा सांसदकी ‘मोनिटर’ क्रान्तिशिखा

काठमाडौं : नामजस्तै क्रान्तिकारी शैलीमा संसद्मा प्रस्तुत भइरहेकी छिन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धिताल । 

ncell

पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी धिताललाई रास्वपाले समानुपातिक सांसद हुँदै पार्टी सचेतक बनाएको छ । संसद्मा उनी कम उमेरका सांसदहरूमध्ये एक हुन् । तर आफ्ना सांसदहरूलाई अनुशासनको कसीमा राख्न खेलेको भूमिकाका कारण उनी संसद्मा चिनिएकी छिन् ।

त्यति मात्रै होइन, पार्टी र संसद्मा सांसदहरूले बोलेका विषयमा आवश्यक पर्दा सिधै खण्डन गर्ने र स्पष्टीकरणसमेत माग्ने भूमिकामा उनी देखिएकी छन् ।

कुरा एक साताअघिको हो । प्रतिनिधिसभाको बैठक चलिरहेको थियो । सदनमा प्रधानमन्त्री वालेन्द्र साह (बालेन) उपस्थित थिएनन् । 

प्रतिपक्षी दलका सांसदहरूले संसद् अवरुद्ध गरे । त्यसको प्रतिकारमा सरकार पक्षका सांसद खगेन्द्र सुनार संसद्को रोस्ट्रमतर्फ फर्केर उफ्रिए । त्यो व्यवहार अशोभनीय मानिएको थियो । त्यसक्रममा रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सुनारलाई सम्झाउँदै शान्त रहन आग्रह गरिन् ।

प्रतिपक्षीको विरोधको प्रतिकार गर्न आक्रामक रूपमा उत्रिएका सुनार सहजै शान्त हुने अवस्थामा थिएनन् । तर धितालले सुझाव र सम्झाइबुझाइ गर्दै उनलाई आफ्नो सिटमा फर्किन आग्रह गरिन् । अन्ततः सुनार संयमित बने । संसद्मा आफ्नै पार्टीका सांसदलाई अनुशासनमा राख्न धितालले खेलेको यो भूमिका चर्चामा रह्यो ।

यस्तै, ‘सिंहदरबार खाली छ, तालिम किन पाँचतारे होटलमा ?’ भन्दै रास्वपाकै सांसद आशिका तामाङले सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै धितालले भनेकी थिइन्, ‘सांसद आशिका तामाङमा पर्याप्त राजनीतिक चेतना नभएको देखिन्छ ।’

प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएकाले विमति राख्न पाइने भए पनि ‘विमतिका लागि मात्रै विमति’ राख्न नहुने उनको भनाइ थियो । धितालले स्पष्ट रूपमा भनेकी थिइन्, ‘आफ्नो युनिकनेस देखाउनका लागि मात्रै विमति राख्नुहुँदैन । त्यसका लागि अध्ययन, विचार र स्पष्ट भूमिका आवश्यक हुन्छ ।’

आवश्यक परे स्पष्टीकरणसमेत सोधिने संकेत गर्दै उनले भनिन्, ‘सचेतकको भूमिकामा हुँदा कसैले पनि अनुशासन मिच्न पाउँदैन । व्यक्तिगत अभिव्यक्तिका कारण सिंगो पार्टी र नेतृत्वलाई दाग लाग्न दिनुहुँदैन । आशिकाजीले सामाजिक सञ्जालमा राखेको अभिव्यक्तिलाई प्रमाणसहित पुष्टि गर्न सक्नुभयो भने हामी हेर्नेछौं ।’

माओवादी ‘जनयुद्ध’को उद्गमथलो रोल्पामा हुर्किएकी धिताल लुम्बिनी प्रदेशबाट खसआर्य महिलाको प्रतिनिधित्व गर्दै संसद्मा पुगेकी हुन् । गत फागुन २१ गतेको निर्वाचनमा उनको दाबी प्रत्यक्षतर्फ थियो । तर पार्टीको निर्णय र समीकरणका कारण उनी समानुपातिक सूचीमा परिन् । चुनाव लड्ने कुरा व्यक्तिगत इच्छाभन्दा पनि पार्टीको आवश्यकता र रणनीतिसँग जोडिने उनको बुझाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै सक्रिय धिताल पार्टीको विधान निर्माणदेखि चुनावी घोषणापत्र तयार पार्ने कामसम्म महत्वपूर्ण भूमिकामा रहेकी थिइन् । 

पार्टी प्रशिक्षणमा समेत सक्रिय उनले २०७९ सालको पार्टी विधान निर्माण, संगठनको स्वरूप निर्धारण, शिक्षण तथा चुनावी वाचापत्र तयार पार्न उल्लेखनीय भूमिका निर्वाह गरेकी छिन् ।

रास्वपा सरकारमा रहँदा उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सल्लाहकार थिइन् । नीति निर्माण र कार्यान्वयनका विभिन्न क्षेत्रमा उनले काम गरेकी छन् । केन्द्रीय सदस्यका रूपमा संगठन निर्माण, प्रशिक्षण र नीतिगत बहसमा पनि उनी सक्रिय छन् । 

आफूमा बाल्यकालदेखि नै राजनीतिक चेतना रहेको बताउने उनी चित्त नबुझेका विषयमा पार्टीभित्र खुलेर राख्ने गरेको दाबी गर्छिन् । ‘युद्धको उद्गमस्थल भएकाले रोल्पामा राजनीतिक वातावरण स्वाभाविक रूपमा छ,’ उनी भन्छिन्, ‘रोल्पाका मानिसहरूको डिएनएमै राजनीति हुन्छ ।’

उनको परिवार एमालेनिकट मानिन्थ्यो । मामाघरका हजुरबुवा प्रधानपञ्च थिए । द्वन्द्वकालमा घरमै भूमिगत नेताहरू बस्ने गर्थे । एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महरासँग परिवारको निकट सम्बन्ध रहेको बताइन्छ ।

दाङको घोराहीस्थित शान्ति निकेतन विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आएकी हुन् । गोल्डेन गेट कलेजबाट प्लस टु पूरा गरेकी उनले त्यहीँबाट मनोविज्ञानमा स्नातक अध्ययनसमेत गरेकी छिन् ।

पार्टीका सचेतकहरूले आफ्ना सांसदलाई आवश्यक निर्देशन गर्न पाउने बताउँछन्, संसदीय मामिला अध्येता जगत नेपाल । उनी भन्छन्, ‘आफ्ना सांसदलाई सचेतकले सुझाइबुझाई गर्न पाउँछन्, संसद्मा जानुअघि सचेतक र सांसदले संविधान र आफ्नो जिम्मेवारी बुझ्नुपर्छ ।’ 

अहिलेको संसदीय अभ्यास हेर्दा सांसदहरूलाई पर्याप्त प्रशिक्षण दिनुपर्ने उनी बताउँछन् । सांसदहरूले संसद्मा दिने अभिव्यक्ति पार्टी र व्यक्तिको मात्र विचार नभएको कुरा सांसदहरूले बुझ्नुपर्ने उनी बताउँछन् । 

संसद्मा धितालले खेलेको भूमिकालाई सकारात्मक रूपमा लिन्छन् पूर्वसचिव राजेन्द्र फुयाँल । आफ्ना सांसदलाई गलत कार्यबाट रोक्नु, सचेत गराउनु, संकेत गर्नुलाई गलत भन्न मिल्दैन,’ उनले भने, ‘तर मुख्य भूमिका सभामुखकै हो ।’ 

सदनमा सांसदहरूले असंसदीय व्यवहार देखाएमा वा प्रदर्शन गरेमा त्यसलाई रोक्ने काम सभामुखको भएको उनले बताए । आवेगमा आएका सांसदलाई शान्त बनाउने अनौपचारिक प्रयासलाई व्यावहारिकतामा पनि हेर्नुपर्ने उनी बताउँछन् । तर, एउटा सांसद बोलिरहेका बेला अर्को सांसद बीचमा बोल्नु, बोल्न रोक लगाउनुचाहिँ असंसदीय भएको उनले बताए । 

ताजा खबर

सम्बन्धित खबर