
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत कार्य गर्ने व्यक्तिलाई जनताले प्रतिनिधिका रूपमा स्वीकार नगर्ने बताएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहप्रति सदनप्रति जवाफदेही नभएको आरोप उठिरहेका सन्दर्भमा उनले विधिको शासन सबैले समान रूपमा पालना गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
दुलालले विशेष गरी प्रधानमन्त्री शाहका समर्थकलाई लक्षित गर्दै अन्धसमर्थनले अन्ततः निराशा निम्त्याउने टिप्पणी गरेका छन्। उनका अनुसार आलोचनालाई स्वीकार गर्ने संस्कार लोकतान्त्रिक अभ्यासको आधार हो ।
उनले सामाजिक सञ्जालमार्फत व्यक्त धारणा उद्धृत गर्दै भनेका छन्, “अन्धभक्त हुन सजिलो हुन्छ, तर सत्य बोल्दै आलोचना सामना गर्नु चुनौतीपूर्ण हुन्छ, जसका लागि साहस र आत्मविश्वास आवश्यक पर्छ । अन्धभक्तिको अन्तिम परिणाम निराशा हो भने रचनात्मक आलोचनाले आशा निर्माण गर्छ ।”