२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

एमालेमा अल्पमतमा परे ओली, काम लागेन ‘विद्या कार्ड’

शंकरको नेतृत्व स्वीकार्न विष्णु पौडेल तयार

Nada
जनक नेपाल
२०८३ जेठ ९ गते ०७:५०
Shares
एमालेमा अल्पमतमा परे ओली, काम लागेन ‘विद्या कार्ड’

काठमाडौं : सबैभन्दा ठुलो वामपन्थी दल नेकपा (एमाले)मा नेतृत्व परिवर्तनको बहसले अन्तरसंघर्ष चर्किएको छ । बहुमत पदाधिकारीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब बढाएका छन् । पार्टी सचिवालयमा ओली अल्पमतमा परिसकेको शुक्रबारको बैठकले संकेत गरेको छ । 

ncell

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नेतृत्व फेर्ने कसरतमा रहेको बुझेपछि ओली कडा रूपमा प्रस्तुत भएका थिए । जिम्मेवारी बाँडफाँटको प्रस्तावप्रति उपाध्यक्ष पृथ्वीसुब्बाले असन्तुष्टि पोखेपछि अध्यक्ष ओली कड्किएका थिए, ‘संकटका बेला नेतृत्वको रक्षा नगर्नेलाई केको जिम्मेवारी ? यस्तो बेला पुनर्गठन भन्दै हिँड्नेलाई अनुशासनको कारबाही हुन्छ ।’ 

ओली पड्किएपछि उपाध्यक्ष गुरुङले कडै शब्दमा प्रतिवाद गरे, ‘एमाले तपाईंको प्राइभेट कम्पनी हो ? हाम्रो योगदान छैन ?’ उनको जवाफ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘कसलाई धम्की दिनुभएको हो ?’ ओली र गुरुङको नोकझोकले बैठकमा केहीबेर असहज स्थिति बनेको थियो । 

बैठकमा बोल्ने पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा बादल मात्र अध्यक्ष ओलीको पक्षमा उभिएका थिए । उनले २३–२४को जेनजी आन्दोलनलाई सेनाको ‘सफ्ट कु’को संज्ञा दिए । देशी–विदेशी प्रतिक्रियावादीले पार्टी र नेतृत्वलाई घेराबन्दी गरिरहेका बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने उनको तर्क थियो । उपाध्यक्ष बादलले संसद्मा पनि यस्तै अभिव्यक्ति दिँदै आएका छन् । संसद्को पहिलो बैठकमा उनले दिएको सेनालक्षित अभिव्यक्ति पार्टी बैठक बसेरै सच्याइएको थियो । त्यसमा पनि ओलीले असन्तुष्टि पोखेका छन् । ‘बादलजीले बोलेको ठिक थियो । किन सच्याइयो ?’ उनले भनेका थिए । 

उपाध्यक्ष विष्णु पौडेलले प्रस्ट रूपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे । अहिलेको समग्र परिस्थितिको समीक्षा गरेर पार्टी पुनर्गठन गर्नुको विकल्प नरहेको उल्लेख गर्दैै उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउनु त्रुटिपूर्ण रहेको बताए । ‘पहिलो विधान महाधिवेशन र दसौं महाधिवेशनले तय गरेका ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउनु त्रुटि भयो । त्यो सच्याउनुपर्छ,’ उनले भने । पौडेलले पार्टी संगठन र नेतृत्व पुनर्गठन नगरी अब एमाले अघि बढ्न नसक्ने बताएका छन् । 

एमालेमा जेनजी आन्दोलनपछि नै नेतृत्व परिवर्तनको बहस चलेको हो । गत निर्वाचनमा ऐतिहासिक धक्का व्यहोरे पनि ११औं महाधिवेशनमा विधान संशोधन गरेर ओलीलाई नै अनुमोदन गरियो । त्यतिबेला उनकै पक्षमा उभिएका पदाधिकारी अहिले विपक्षमा उभिएका हुन् । आफ्नै विश्वास पात्रहरू विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ नै नेतृत्व पुनर्गठनको पक्षमा उभिएपछि ओली अप्ठ्यारोमा परेका छन् । 

चुनावलगत्तै ओली पितृशोकमा परे । रास्वपा सरकार बनेको भोलिपल्टै चैत १४मा उनी जेनजी आन्दोलनमा दमनको आरोपमा पक्राउ परे । प्रहरी हिरासतमै रहेका बेला उनले पित्तथैली र हर्नियाको अप्रेसन गरे । अध्यक्ष ओली उल्झनमा परेका बेला एमालेभित्र नेतृत्व फेरबदलको रणनीति बनेको छ । जारी सचिवालय बैठकमा सबै पदाधिकारीले खुलेर आफ्नो विचार राख्ने र अध्यक्ष ओलीलाई उनी अल्पमतमा परेको सन्देश दिएर राजीनामा गराउने तयारी छ । शनिबारको बैठकमा १२ पदाधिकारीले आफ्ना धारणा राख्दै छन् ।   

आफूविरुद्ध आउन लागेको आँधी बुझेरै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराए । संस्थापनइतर र शंकर–विष्णु समूहको मोर्चाबन्दी तोड्न उनले ‘विद्या कार्ड’ खेलेको देखिन्छ । 

नेतृत्व दोस्रो पुस्तामा जान लागेको बुझेरै ओली र भण्डारी एकठाउँ आएको विश्लेषण एमालेवृत्तमा भइरहेको छ । सोही कारण विगतमा आफैंले होल्ड गरेको पार्टी सदस्यता दिने निर्णयमा ओली पुगेका हुन् । पार्टी सदस्यता नवीकरण गराउन आफ्नो टिममा राम्रो छलफलसमेत नगरेरै भण्डारी निवेदन लिएर ओलीनिवास गुन्डु पुग्नुले पनि त्यही संकेत गर्छ । भण्डारीको सदस्यता नवीकरण गर्ने टुंगो लागे पनि उनको जिम्मेवारीबारे कुनै निर्णय भएको छैन । ‘परिस्थिति अब विद्या कार्डले सम्हालिने अवस्थामा छैन,’ एक पदाधिकारीले भने, ‘अब ओलीले नेतृत्व नछाडेर सुख छैन ।’ 

भण्डारीनिकट नेता कर्ण थापा अब नेतृत्व कुनै दाउपेचभन्दा सहज मार्गप्रशस्तमा जानु उपयुक्त हुने बताउँछन् । ‘कोही नेताप्रति कसैले आग्रह, पूर्वाग्रह राख्न जरुरी छैन । यथार्थ धरातलमा उभिएर समीक्षा गर्ने र पार्टी पुनर्गठन गर्नुको विकल्प छैन,’ उनी भन्छन्, ‘विद्या कमरेड सर्वस्वीकार्य नेता हो । उहाँको नेतृत्वमा वामपन्थी एकतामा जाने विकल्प पनि जीवितै छ ।’

शंकरको नेतृत्व स्वीकार्न विष्णु तयार  

नवौं महाधिवेशनपछि पार्टी नेतृत्वमा आएका अध्यक्ष ओलीका दुई सारथि थिए, विष्णु पौडेल र शंकर पोखरेल । १०औं र ११औं महाधिवेशनसम्म उनले यी दुई नेताको साथ पाए । ओलीको असली उत्तराधिकारी बन्ने दौडमा शंकर–विष्णुले नेतृत्वविरुद्ध कहिल्यै प्रश्न उठाएनन् । बरु, ओलीका एकपछि अर्को गल्तीमा रफु भर्दै गए । एकले अर्कालाई अस्वीकार गर्दै आएका दुई नेता अध्यक्ष ओलीबाट अब पार्टी चल्दैन भन्ने साझा निष्कर्षमा पुगेका छन् । नेतृत्व पुनर्गठनको बहस छेडेका उपाध्यक्ष पौडेलले शुक्रबारको सचिवालय बैठकमा मुख खोलेरै भने, ‘तपाईंबाट अब पार्टी चल्दैन ।’ 

दुई नेताले १५ दिनअघि गुन्डु पुगेरै अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको विधि तय गर्न सुझाएका थिए । आफूहरूले अध्यक्ष ओलीको सम्मानपूर्ण बर्हिगमन चाहेको पनि सुनाएका थिए । शंकर–विष्णुको प्रस्तावले ओली चिढिए । त्यसको दुई दिनपछि नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई निवासमा बोलाएर दुई घण्टा छलफल गरे । सोही भेटपछि भण्डारीले पार्टी सदस्यता नवीकरणको निवेदन दिएकी हुन् । ओली उपाध्यक्ष पौडेलभन्दा महासचिव पोखरेलसँग धेरै असन्तुष्ट छन् । १०औं महाधिवेशनमा पौडेल र पोखरेल दुवै महासचिवको दौडमा थिए । तर, ओलीले भण्डारीको समेत सल्लाहमा पोखरेललाई सर्वसम्मत गराएका थिए । 

पार्टीले ऐतिहासिक धक्का खाँदासमेत ओलीले नेतृत्व छाड्न नचाहेपछि शंकर–विष्णु एकठाउँ उभिएका हुन् । ‘पार्टी र नेतृत्व पुनर्गठनमा हामी एकठाउँ छौं । शंकरजीलाई गगन (थापा) बनाएर म विश्व (प्रकाश शर्मा) हुन तयार छु,’ केन्द्रीय र प्रदेश तहका नेताहरूसँगको भेटमा उपाध्यक्ष पौडेलले भन्ने गरेका छन्, ‘हैन, तिम्रो उपादेयता सकियो भनिन्छ भने नेतृत्वबाहिर बस्न पनि तयार छु । तर, पार्टी सिद्धिन दिइन्न ।’ 

महासचिव पोखरेलले पनि केन्द्र र प्रदेश तहका नेताहरूसँग बाक्लो भेटघाटमा छन् । पाँच महिनाअघिको महाधिवेशनमा ओलीलाई निर्विकल्प देख्नुले उनको राजनीतिक दूरदर्शितामाथि प्रश्न पनि उठेका छन् । उनको नेताकार्यकर्तालाई भन्ने गरेका छन्, ‘टेक्ने भुइँ हुँदासम्म मैले अध्यक्षलाई बोकेरै हिँडेँ । टेक्ने ठाउँ नभएपछि विकल्प खोज्नुपर्ने बेला आएको छ ।’ 

उनले आफू सकेसम्म नेतृत्वको सुरक्षित अवतरण चाहेको पनि बताइरहेका छन् । ‘पार्टी र नेतृत्व पुनर्गठन गर्नैपर्ने ठाउँमा हामी छौं,’ महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै एक प्रदेश सांसदले भने, ‘नर्मल डेलिभरी होस् भन्ने चाहना हो । नभए सिजरिङ गरेर भए पनि नयाँ नेतृत्व आउँछ ।’  

ताजा खबर

सम्बन्धित खबर