
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्र शंकर पोखरेलले समेत पछिल्लो समय ओलीको साथ छाडेका छन् । उनी गत १०औं र ११औं महाधिवेशनबाट ओलीको टिमका महासचिव हुन् ।
पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले ओलीलाई मार्गप्रशस्त गर्न माग गरे । त्यसअघि शुक्रबारको बैठकमा चार उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेका थिए । महासचिव पोखरेल विगत दशकदेखि ओलीका खम्बा बनेर उभिँदै आएका थिए ।
पोखरेलले राजीनामाको शब्द प्रयोग नगरेर मार्ग प्रशस्त भन्ने शब्द प्रयोग गरेको एमालेका एक पदाधिकारीले बताए । बैठकमा उपमहसचिव योगेश भट्टराईले भने राजीनामा शब्द नै प्रयोग गरेर ओलीलाई पद छाड्न दबाब दिएका हुन् । ‘पार्टी पुनर्गठनको आवाज ठुलो छ । अब पार्टी यतिकै अवस्थामा अघि बढ्न सक्दैन’, महासचिव पोखरेलले बैठकमा भने– ‘यथास्थितिबाट अघि बढ्न सकिँदैन अब नेतृत्वले नै नयाँ ढंगले सोच्ने अवस्था आएको छ ।’
शनिबारको बैठकमा उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्टलगायतले पनि आफ्नो धारणा राखेका थिए । त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, महेश बस्नेत, हिक्मत कार्कीलगायतले अहिलेको पार्टीको अवस्थाबारे आफ्ना धारणा राखेका थिए । तीमध्ये अधिकांश पदाधिकारीले ओलीलाई मार्गप्रसस्त गर्न सुुझाएका छन् । यसअघि शुक्रबार उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टले धारणा राखेका थिए । उपाध्यक्ष थापाबाहेक अधिकांश नेताहरूले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।
पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहितका नेताहरूले जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा ओलीले नेतृत्व छाड्नुपर्ने अभियान चलाएका थिए । ११ औं महाधिवेशन उनीहरूले ओलीको विरूद्धमा टिमनै खडा गरेर ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएका थिए । यद्यपि महाधिवेशन प्रतिनिधिहरूले ओलीलाई जिताएपछि ओलीले नै गत निर्वाचनमा टिकट वितरण गरे । महाधिवेशनमा ओलीको बलिया खम्बा मानिएका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल मिलेर अहिले ओलीको विकल्प खोज्न थालेका हुन् ।
पछिल्लो पटक ओलीले सदस्यता रोकेको पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता समेत सक्रिय बनाएका छन् । यो सांगै ओलीले विद्याको साथ खोजेको एमालेभित्र बहस सुुरू भएको छ । यद्यपि विद्याले उनलाई सहयोग गर्ने अवस्था बनेको छैन् । आफ्नै विश्वास पत्रहरू पदाधिकारी र केन्द्रीय समितिमा कम्तीमा दूईतिहाइ छन् । तर उनिहरूले विस्तारै ओलीको साथ छाड्दै जादा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि पद छाड्न दबाब बढेको एमाले नेताहरूले बताएका छन् । निरन्तर चलिरहेको बैठकमा आइतबार शेरधन राई,भानुभक्त ढकाल, खगराज अधिकारी र यमलाल कँडेलले धारणा राखेपछि बैठक सकिने एमालेले जनाएको छ ।