
काठमाडौं : नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी प्रदेश संरचनामा गठबन्धनको कसरतमा रहेका छन् ।
पूर्वसहमति अनुसार प्रदेशमा सरकार फेरबदल गर्ने विषयमा कांग्रेस र एमाले नेताहरू छलफलमा जुटेका छन् । यही बेला बेला गणतन्त्र पक्षधरबिच सत्ता गठबन्धन बनाउने गरी गृहकार्य भएको हो । यसका लागि विभिन्न मोडालिटीबारे छलफल भएको छ ।
नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने र बाँकी ३/३ प्रदेशको नेतृत्व नेकपा एमाले र नेपाली कांग्रेसले गर्ने गरी छलफल चलेको छ ।
गत वर्ष भदौमा जेनजी आन्दोलनका कारण संघमा सत्ता गुमाएका यी तीन पार्टीले फागुनमा भएको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका थिए । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई सिट कम दुई तिहाइ बहुमत प्राप्त गर्यो । १८२ सिट ल्याएको रास्वपाले संघमा एकल सरकार चलाइरहेको छ । पुराना प्रमुख तीन दल विपक्षमा छन् । यसबेला प्रदेश सरकारमा यी प्रमसख तनि पुराना दल नै गठबन्धनको प्रयासमा लागेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नै प्रदेश सरकारमा सहभागी हुनेबारे कांग्रेस र एमाले दुवै पक्षबाट प्रस्ताव आएको बताएका छन् ।
यही जेठ ३ गते कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘प्रमुख पार्टीहरूले प्रदेशका सरकारहरू हामी मिलेर बनाऔँ भनेर कतै कांग्रेसको तर्फबाट, कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव आइरहेको छ ।’
हाल प्रदेश सरकारमा कांग्रेस र एमालेको समीकरण छ । २०८१ साल असार १७ गते कांग्रेस र एमालेबिच ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिअनुसार बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ । उक्त सहमति अनुसार मधेस सरकारको नेतृत्व जनमत पार्टीले पाएको थियो । पछि त्यहाँ विकसित राजनीतिक घटनाक्रमबाट कांग्रेसले सरकारको नेतृत्व गर्दै आएको छ ।
आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार पहिला कांग्रेसले नेतृत्व गरेको प्रदेशमा एमाले र एमालेले नेतृत्व गरेको प्रदेशमा कांग्रेसले सरकार बनाउने सहमति भएको थियो । यसअनुसार कांग्रेस र एमालेबीच छलफल चलिरहेको हो ।
प्रदेश सरकार फेरबदल गर्ने विषयमा छलफल गर्न कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदय शमशेर राणा गत वैशाख २९ गते एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास गुन्डु पुगेका थिए । त्यसअघि एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले कांग्रेसका शर्मा र राणासँग कुराकानी गरेका थिए ।
प्रदेशमा सरकार फेरबदल, संविधान निर्माण पक्षधरबिच सहकार्य लगायत विषयमा एमालेका अध्यक्ष ओली र कांग्रेसका सभापति गगन थापाबिच पनि कुराकानी भएको छ । यही बेला एउटा प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीलाई दिने गरी नेताहरूबीच छलफल चलेको हो ।
यही जेठ ४ गते बसेको एमालेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपालाई दिएर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । यसो गर्दा विपक्षी दलहरूबिचको गठबन्धन बलियो हुने उनको आग्रह थियो ।
तर, यो विषयमा ठोस सहमति भने भइसकेको छैन । यही जेठ दुई गते प्रचण्डले कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्कासँग भेट गरेका थिए । उक्त भेटमा पनि प्रदेश सरकारको विषयमा छलफल भएको थियो ।
प्रदेश सभाहरूमा यी तीन दल नै प्रमुख दलका रुपमा रहेका छन् ।
कोशी प्रदेश सभामा एमाले ४०, कांग्रेस २९, नेकपा १७, राप्रपा ५ र जसपा नेपालको १ सिट छ ।
मधेस प्रदेश सभामा एमाले २४, कांग्रेस २२, जसपा नेपाल १८, नेकपा १५, जनमत पार्टी १२, लोसपा ८, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको एक/एक सिट छ ।
बागमती प्रदेश सभामा कांग्रेस ३७, नेकपा २८, एमाले २७, राप्रपा १३, नेमकिपा २ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
गण्डकी प्रदेश सभामा कांग्रेस २७, एमाले २२, नेकपा ८ र राप्रपाको २ सिट छ ।
लुम्बिनी प्रदेश सभामा एमाले २९, कांग्रेस २७, नेकपा १३, राप्रपा ४, जसपा नेपाल ३, जनमत पार्टी ३, जसपा २, राजमो र स्वतन्त्र एक/एक सिट छ ।
कर्णाली प्रदेश सभामा कांग्रेस १४, नेकपा १४, एमाले १०, राप्रपा र स्वतन्त्रको एक/एक सिट छ ।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा २२, कांग्रेस १८, एमाले ११ र राप्रपाको एक सिट छ ।