
काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्न, संगठनलाई सक्रिय बनाउन तथा १२औं महाधिवेशनको मिति घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
सो क्रममा नेविसंघका कार्यकर्ताहरूले पार्टी सभापति गगनकुमार थापाको कार्यकक्षको ढोकामै 'डन्ट मेक अस झोले', ‘१२औं महाधिवेशन सुनिश्चित गर’ र ‘युवालाई स्पेस देऊ, पार्टीलाई पेस देऊ’लगायतका नारा लेखिएका प्लेकार्ड टाँसेका छन् ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्र देखिएको गुट–उपगुटको राजनीतिले संगठन कमजोर बन्दै गएको टिप्पणी गर्दै अब नेतृत्वले एकताको पहल गर्नुपर्ने बताएका छन् । उनीहरूले पार्टीभित्रको एकता विद्यार्थी संगठनबाटै सुरू हुनुपर्ने धारणा राख्दै नेविसंघलाई लामो समय निष्क्रिय अवस्थामा राख्नु उपयुक्त नभएको बताए ।
कार्यकर्ताहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवापुस्तालाई नेतृत्व तहमा अवसर दिनुपर्ने मागसमेत गरेका छन् । उनीहरूको भनाइमा विद्यार्थी संगठनलाई चलायमान र प्रभावकारी बनाउन स्पष्ट कार्ययोजना आवश्यक छ ।