
काठमाडौं : लामो रस्साकस्सीपछि नेकपा एमालेको सचिवालय बैठकले चुनावी समिक्षा र पार्टी पुनर्गठनका लागि सुझाव पेस गर्न कार्यदल गठन गरेको छ । उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा बनेको कार्यदलले एक महिनाभित्र समग्र पार्टी जीवनको बस्तुस्थितिको प्रतिवेदन तयार गर्नेछ । कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बीसुव्वा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिव छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सदस्य छन् ।
बैठकले नेताहरूको कार्य विभाजनसमेत गरेको छ । त्यस्तै, पार्टी कार्यालय मदननगर बल्खुमै बनाउने निर्णयसमेत गरेको उपमहासचिव भट्टले जानकारी दिए । ‘सर्वोच्चले नदी मापदण्डबारे नयाँ फैसला गरेपछि बल्खुमै पार्टी कार्यालय बनाउने निर्णय गरियो’ उनले भने, ‘कलंकीमा जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवादसहित फिर्ता गर्ने निर्णय भयो ।’
सरकारका गलत निर्णयविरुद्ध देशभर भण्डाफोर अभियान संचालन गर्ने निर्णय पनि गरेको छ । सचिवालय बैठकमा अधिकांश पदाधिकारीले पार्टी र नेतृत्व पुनर्गठनको आवाज उठाएका थिए । त्यसबारे ठोस निर्णय भने भएन् ।