
काठमाडौँ : नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि समाधान गर्दै संगठनात्मक एकता कायम राख्ने उद्देश्यसहित नेता डा.शेखर कोइरालाले पाँच बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन् ।
पार्टी सभापति गगन थापासँग निरन्तर छलफलमा रहेका कोइरालाले आगामी १५औँ महाधिवेशनलाई सहमतिमार्फत सम्पन्न गर्ने वातावरण बनाउन उक्त प्रस्ताव अघि बढाएको जनाइएको छ ।
प्रस्ताव अनुसार १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको अद्यावधिकलाई अनिवार्य नबनाई १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका सदस्यताकै आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनपछिको संरचनालाई समायोजन गरेर एकीकृत कार्यसमिति बनाउने सुझाव पनि प्रस्तावमा समेटिएको छ । कार्यसम्पादन समिति गठन गर्दा सभापति पक्षको बहुमत सुनिश्चित गर्ने तथा निर्वाचन समिति, अनुशासन समिति, विधान समिति, क्रियाशील सदस्यता छानबिन समिति लगायतका संरचना आपसी सहमतिबाट गठन गर्नुपर्ने धारणा समेत राखिएको छ ।
पार्टीभित्र सहमति कायम राख्ने विषयमा सभापति थापाले पनि लचकता अपनाउने संकेत दिँदै आएका छन् । उनले पूर्वसभापति शेरबहादुर देउवा पक्ष र कोइराला समूहलाई समेटेर महाधिवेशन सम्पन्न गर्न आफू सकारात्मक रहेको बताउँदै आएका छन् ।
यसैबीच, थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का तथा कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने सन्देश समेत पठाइसकेको बताइएको छ । साथै, असन्तुष्टि जनाउँदै आएका १९ जना नेतालाई यसअघि नै केन्द्रीय समितिमा समावेश गरिसकिएको जनाइएको छ ।