
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाए ।
प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी गरे । नेपालको भू–राजनीति र जनसाङ्ख्यिक अवस्थितिलाई दृष्टिगत गर्दै संसदीय शासन प्रणाली रोजिएको स्मरण गराउँदै उनले अहिले सरकारबाटै यस प्रणालीमाथि अदृश्य रूपमा आक्रमण भइरहेको दाबी गरे ।
उनले अध्यादेश जारी गर्ने शैली, अदालतका प्रसंग, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र संघीयताको कार्यान्वयनमा देखिएका कमजोरीलाई संसदीय लोकतन्त्रमाथिको चुनौती भएको बताए ।
प्रवक्ता चालिसेले सञ्चारकर्मीहरूलाई सत्यको पक्षमा अविचलित भएर उभिन आग्रह गरे । सन् १९५३ मा अमेरिकामा रंगभेदविरुद्ध रोजा पार्क्सले गरेको सानो विद्रोहले नागरिक अधिकार प्राप्तिमा ल्याएको ठुलो परिवर्तनको उदाहरण दिँदै उनले पत्रकारको कलमले नै स्वतन्त्रताको रक्षा गर्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसको आन्तरिक राजनीतिक प्रसंग उल्लेख गर्दै प्रवक्ता चालिसेले निर्वाचनमा भएको हारलाई ‘ब्याटल’को हार मात्र भएको र सिद्धान्तको लडाइँमा कांग्रेस कहिल्यै पराजित नहुने स्पष्ट पारे । निर्वाचनमा व्यहोरेको पराजयलाई ‘सेटब्याक’को संज्ञा दिँदै उनले आगामी पाँच वर्षभित्र जनताले चाहेजस्तो र रोजेजस्तो कांग्रेस बनेर सशक्त रूपमा पुनरागमन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।