२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आर्थिक सर्वेक्षण : अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १५ सय १३ डलर

Nada
छबि सापकोटा
२०८३ जेठ १४ गते ०६:२०
Shares
आर्थिक सर्वेक्षण : अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १५ सय १३ डलर

काठमाडौं : सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले अर्थतन्त्रको समग्र दृश्य सकारात्मक रहेको देखाएको छ । नेपालमा केही भएन भनेर चौतर्फी निराशा देखिएपनि आर्थिक गतिविधिमा सुधार देखिएको छ । शिक्षा, स्वास्थ्य, विद्युत्, वित्तीय पहुँचदेखि उद्योग व्यवसायमा लगानी बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ । नेपालको बाह्य क्षेत्र बलियो, मुद्रास्फीति नियन्त्रणमा र रेमिट्यान्समा उल्लेख्य वृद्धिले अर्थतन्त्रको गति सकारात्मक देखिएको हो ।

ncell

तर, पुँजीगत खर्च कमजोर, व्यापार घाटा बढ्नु, सार्वजनिक ऋण बढ्दै गइरहेको र निजी क्षेत्रको कर्जा प्रवाहको सुस्तताले आमनागरिकको मनोबल घटिरहेको देखिन्छ । 

चालु आर्थिक वर्ष २०८२/८३मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३मा चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन ६६ खर्ब ९ करोड रहने अनुमान गरिएको छ । 

विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र बाह्य द्वन्द्वका बीच नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनको संरचनामा कृषि २४ प्रतिशत र गैरकृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ । एक दशकयता निरन्तर कृषि क्षेत्रको योगदान घट्दै गएको र सेवाक्षेत्रको योगदान कुलगार्हस्थ उत्पादनमा देखिएको छ । यस्तै, सर्वेक्षणमा चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो । 

नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ । चालु वर्षको कुल गार्हस्थ उत्पादनमा उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान छ । कुल उपभोगमा निजी क्षेत्रको ९१.२६ प्रतिशत, सरकारी क्षेत्रको ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको हिस्सा २.१२ प्रतिशत छ । चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रतिव्यक्ति आय १ हजार ५ सय १३ रहेको छ । 

यस्तै, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्च योग्य आय २ हजार ४४ पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ । प्रदेशगत रूपमा तुलना गर्दा चालु आर्थिक वर्षमा वागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ ।

आर्थिक वर्ष २०८१/८२मा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७नाफामा, १६ नोक्सानीमा र २ बन्द अवस्थामा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए । २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्व ३१ करोड गरी कुल ७ खर्ब ९८ अर्व ५६ करोड रुपैयाँ रहेको आर्थिक सर्वेक्षणले देखाएको हो । 

कर्जा विस्तार सुस्त

आर्थिक सर्वेक्षणले वित्तीय पहुँच विस्तार बढ्दै गएको देखाएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या फागुन मसान्तसम्म ६ करोड २० लाख ६० हजार २२२ पुगेको छ भने कर्जा खाताको संख्या २० लाख ४० हजार १४८ पुगेको छ। यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेको छ । डिजिटल भुक्तानीतर्फ उल्लेख्य सुधार भएको छ । फागुनसम्म क्युआरमा आधारित कारोबार १ खर्ब २५ अर्बभन्दा बढी पुगेको छ । तर पछिल्लो समय आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्थामा परेको छ । निजी क्षेत्रतर्फको कर्जा प्रवाह सुस्त छ। चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत विभिन्न बालीका २१ सुपरजोन, २०६ जोन, १ हजार ६९९ ब्लक र ९ हजार ३९३ पकेट सञ्चालनमा रहेका छन् । सिँचाइ सुविधा विस्तार भइरहेको सरकारले जनाएको छ । कृषियोग्य जमिनको ४४.६ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको सर्वेक्षणले देखाएको छ । 

चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड गरी ४ खर्ब ९२ अर्बबराबरको लगानी स्वीकृत भएको छ । उद्योग क्षेत्रमा ५४ खर्ब ४४ अर्ब ६ करोडबराबरको कुल लगानी स्वीकृत भएको सर्वेक्षणमा उल्लेख छ । विद्युत्को प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको खपत केही घटेको छ। चालु आर्थिक वर्षमा पेट्रोल र डिजेलको आयात घटेको छ ।  कोभिडले थला परेको पर्यटन क्षेत्र पुनरुत्थान हुँदै गएको छ । सन् २०२५मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिएका छन् । पर्यटकको औसत बसाइ अवधि १६.३४ दिन पुगेको छ। प्रतिपर्यटक प्रतिदिन औसत खर्च ३३ अमेरिकी डलर रहेको छ । यस्तै,मुलुकभर कुल १ लाख ४ हजार ९०६ किलोमिटर सडक विस्तार, सरकारी स्वास्थ्य संस्थाको संख्या ८ हजार ९७६, खानेपानीको पहुँच ९७ प्रतिशत, विद्युत् ९९ प्रतिशत,आधारभूत तह भर्नादर ९९ प्रतिशत रहेको सर्वेक्षण देखाएको छ ।

ताजा खबर

सम्बन्धित खबर