
काठमाडौँ : नेपाली कांग्रेस अन्तर्गतको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमितिका संयोजकहरूको नाम टुंग्याएको छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगन थापाको उपस्थितिमा बसेको बैठकले उपसमिति संयोजकहरू चयन गर्ने निर्णय गरेको हो ।
उनका अनुसार संयोजकहरूले सम्बन्धित उपसमितिको प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा प्रस्तुत गर्नेछन् ।
बैठकमा सभापति थापाले पार्टीको दीर्घकालीन नीतिगत दिशा सम्बन्धी विचार प्रस्तुत गर्दै प्रतिष्ठानका सदस्यहरूलाई आवश्यक मार्गदर्शन दिएका थिए। त्यस्तै, प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पनि बैठकमा पेश गरेका थिए ।
निर्णयअनुसार विभिन्न सात क्षेत्रका लागि निम्न व्यक्तिहरूलाई संयोजकको जिम्मेवारी दिइएको छ । अर्थ, योजना तथा नीति उपसमितिको संयोजकमा प्रा. डा. गोविन्दराज पोख्रेल तोकिएका छन् । यो उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा नीतिगत सुझाव तयार गर्नेछ ।
जलवायु परिवर्तन सचेतना उपसमितिको नेतृत्व रोशनी गिरीले गर्नेछिन् । यसले हिमाली क्षेत्रका जलवायु प्रभाव न्यूनीकरणदेखि वातावरण संरक्षणका विविध पहल समेट्नेछ ।
नवयुवा मुद्दा, अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति मीनबहादुर भामको नेतृत्वमा रहनेछ। यसले युवा पुस्ता, नागरिक समाज तथा विभिन्न पुस्ताबीचको संवाद र समन्वयमा केन्द्रित काम गर्नेछ । अनौपचारिक क्षेत्रका श्रमिकसम्बन्धी नीति तथा न्याय उपसमितिको संयोजक महेन्द्र यादव तोकिएका छन् ।
बाल अधिकार उपसमितिको जिम्मेवारी उमंग लोहनीलाई दिइएको छ। यसले बाल श्रम नियन्त्रणदेखि बालबालिकाको समग्र अधिकार संरक्षणका विषयमा काम गर्नेछ । सार्वजनिक सेवा प्रवाहसम्बन्धी नीति तथा सुधार उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन् ।
त्यसैगरी गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको नेतृत्व अञ्जु झालाई दिइएको छ । प्रतिष्ठानले यी उपसमितिहरूलाई पार्टीको नीतिगत अध्ययन, बहस र सुझाव निर्माणमा सहयोगी संरचनाका रूपमा अघि बढाइने जनाएको छ ।