
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग राजनीतिक एकता गर्ने प्रयास अघि बढाएका छन् ।
साम्पाङले उक्त पार्टीका अध्यक्ष कुलमान घिसिङलाई एकता तथा सहकार्यका लागि औपचारिक प्रस्ताव पठाइएको जानकारी दिएका छन् । उनका अनुसार बुधबार नै वार्ताका लागि निमन्त्रणा पठाइएको हो ।
सामाजिक सञ्जालमार्फत उनले विभिन्न राजनीतिक दल र नेताबीचको सहकार्य सम्भव भएको उदाहरण प्रस्तुत गर्दै आफू र घिसिङबीच पनि एकता सम्भव हुने धारणा व्यक्त गरेका छन् ।
साम्पाङले राजनीतिक सहकार्यलाई सामान्य प्रक्रियाका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै आपसी संवादमार्फत मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
यसअघि उनले पूर्वमन्त्री सुदन किराँतीलाई पनि आफ्नो पार्टीमा समावेश गराइसकेका छन् ।