
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेकी हुन् । उनका अनुसार बैठकमा आगामी बजेटका साथै समसामयिक राजनीतिक अवस्थाबारे पनि विस्तृत छलफल भएको थियो ।
थापाले विगतमा बजेट निर्माणमा पूर्वाधार क्षेत्रमा बढी ध्यान केन्द्रित हुने अभ्यास रहेको उल्लेख गर्दै यसपटक जनजीवनसँग प्रत्यक्ष सम्बन्धित स्वास्थ्य र शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका र भावी रणनीतिबारे समेत गम्भीर छलफल भएको उनले जानकारी दिइन् ।
त्यसैगरी, उनले सरकारमाथि प्रतिपक्षका आवाजलाई बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूको पर्याप्त जवाफ नदिएको विषयमा पनि असन्तुष्टि व्यक्त गरिन् ।