
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
आइतबार काठमाडौंस्थित एक होटलमा राप्रपाका असन्तुष्ट नेताहरूबीच भएको छलफलपछि राणाले विज्ञप्ति जारी गर्दै देशमा ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक यात्रा तय गर्ने निर्णय गरेको बताएका हुन् ।
जारी विज्ञप्तिमा उनले आफूले राप्रपामा सम्हालिरहेको पदबारे कुनै उल्लेख गरेका छैनन् । बरु देशभित्र र विदेशमा रहेका नेपालीबाट प्राप्त सुझाव र शुभेच्छाका आधारमा नयाँ अभियान अघि बढाउने निष्कर्षमा पुगेको जनाएका छन् ।
राणाले देशको समृद्धि र राष्ट्रिय हितप्रति प्रतिबद्ध नागरिक तथा विशेषगरी नवयुवा पुस्तालाई उक्त अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
“देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत उनले विगत चार वर्षमा राप्रपालाई जनभावनाअनुकूल ढंगले अघि बढाउने प्रयास गरिए पनि त्यसमा सफलता हासिल गर्न नसकिएको स्वीकार गरेका छन् ।
उनका अनुसार पार्टीभित्र देखिएको विरोधाभास र सैद्धान्तिक द्विविधाले राप्रपालाई गलत दिशातर्फ डोर्याएको र त्यसकै परिणामस्वरूप पार्टी जनताबाट दण्डित भएको हो ।
राणाले राप्रपामा आबद्ध नेताकार्यकर्ताप्रति कुनै वैरभाव नरहेको उल्लेख गर्दै वर्तमान राजनीतिक मार्गलाई सही ठान्नेहरूलाई शुभकामना दिएका छन् । साथै, राष्ट्रवादी विचार र मान्यतालाई स्पष्ट लक्ष्यसहित अघि बढाउन चाहनेहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
उनले स्वच्छ मन, आत्मीय सम्बन्ध र साझा राष्ट्रवादी एजेन्डाका आधारमा नयाँ शक्ति निर्माणको अभियान अघि बढाइने संकेत गरेका छन् ।
