
काठमाडौँ : नेपाल-भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको भनाइलाई गम्भीर विषयसँग जोडिएको भन्दै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रावलले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षण सरकारको प्रमुख दायित्व भएको उल्लेख गरेका छन् । यस्ता विषयमा तथ्यगत आधारबिना अभिव्यक्ति दिनु उपयुक्त नहुने उनको भनाइ छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि उपयोग गरेको विषय आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए । उक्त अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक व्यक्तित्वहरूबाट प्रतिक्रिया आउने क्रम जारी छ ।
रावलले प्रधानमन्त्रीको भनाइले नेपालको सीमा र भूगोलसम्बन्धी विषयमा थप स्पष्टता आवश्यक बनाएको बताएका छन् । उनले नेपालले भारतको भूमि कहाँ, कति र कुन आधारमा अतिक्रमण गरेको भन्ने दाबी गरिएको हो भने त्यसबारे सरकारले तथ्यसहित जानकारी दिनुपर्ने माग गरेका छन् ।
उनले राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै देशवासीलाई भ्रममा पार्ने अवस्था आउन नदिन प्रधानमन्त्रीले आफ्नो भनाइबारे थप स्पष्टीकरण दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
रावलले प्रधानमन्त्री आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व, सांसद तथा सम्बन्धित पक्षले पनि यस विषयमा आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सीमा सम्बन्धी विषय राष्ट्रिय सरोकारको भएकाले त्यसबारे तथ्य, प्रमाण र स्पष्ट नीतिका आधारमा छलफल हुनुपर्नेमा उनले जोड दिएका छन् ।