
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई औपचारिक रूपमा प्रारम्भ गरेका छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनीसँग पार्टीस्तरका विभिन्न भेटवार्ता अघि बढाइएको छ ।
भ्रमणको क्रममा लामिछाने भाजपा केन्द्रीय कार्यालय पुगेका बेला पार्टी नेतृत्व तथा कार्यकर्ताहरूले परम्परागत शैलीमा स्वागत गरेका थिए। उनलाई फूलमाला तथा सांस्कृतिक प्रस्तुति सहित सम्मानपूर्वक स्वागत गरिएको बताइएको छ ।
भाजपा कार्यालयमा उनले पार्टी अध्यक्ष नीतिन नविनसँग औपचारिक भेट गरेका छन् । सो अवसरमा भारतीय पक्षले कार्यालय संरचना तथा संगठनात्मक कार्यप्रणालीबारे जानकारी गराएको जनाइएको छ ।
रास्वपाका अनुसार उक्त भेटमा दुई देशका राजनीतिक दलबीच अनुभव आदान-प्रदान, लोकतान्त्रिक अभ्यास, आपसी सहकार्यका सम्भावना तथा सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो ।
पाँच दिनको भ्रमणका लागि सोमबार भारत गएका लामिछानेले प्रवासमा रहेका नेपाली समुदाय तथा आफ्ना समर्थकहरूसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी भारत बसाइको क्रममा उनले अयोध्या भ्रमणसमेत गर्ने तय भएको जानकारी दिइएको छ ।