
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको धारणाप्रति र आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका हुन् ।
मुख्य सचेतक दुलालले प्रधानमन्त्री कुनै दल विशेषको नभई सिंगो मुलुक र आम नागरिकको अभिभावक भएको स्मरण गराउँदै राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषयमा गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् भएको बताए ।
‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको प्रधानमन्त्रीको भनाइ राष्ट्रिय चिन्ताको विषय भएको उल्लेख गर्दै उनले यसको समाधान संसद्बाटै खोजिनुपर्नेमा जोड दिए ।
उनले प्रधानमन्त्रीको उक्त विवादास्पद भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सत्यतथ्यसहित पुनः सदनलाई सम्बोधन गर्नुपर्ने माग राखे । संसद् अवरुद्ध गर्ने वा बजेट छलफललाई प्रभावित पार्ने कुनै नियत नरहेको स्पष्ट पार्दै दुलालले सिमानाको विषय नयाँ आर्थिक वर्षको बजेटभन्दा बढी संवेदनशील र गम्भीर भएको जिकिर गरे ।
मुख्य सचेतक दुलालले यस विषयमा सभामुखमार्फत सरकारलाई रुलिङ हुनुपर्ने र उच्चस्तरीय राजनीतिक छलफलमार्फत अविलम्व निकास खोजिनुपर्ने मागसमेत सदनमा राखेका छन् ।