
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगीका रूपमा चिनिएका निनाचन्द्र राईले पार्टीसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन् ।
धरानमा आयोजित पत्रकार सम्मेलनमा राईले आफू अब श्रम संस्कृति पार्टी तथा हर्क साम्पाङसँग आबद्ध नरहेको जानकारी दिएका हुन् । उनले आफ्नो निर्णयसँगै एक सयभन्दा बढी व्यक्तिले पनि पार्टी परित्याग गरेको दाबी गरेका छन् ।
हर्क साम्पाङलाई धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित गराउने अभियानमा सक्रिय भूमिका खेलेका राई पछिल्लो समय श्रम संस्कृति पार्टीमा आबद्ध थिए । उनले पार्टी प्रवेशका क्रममा आफूलाई भविष्यमा धरानको मेयर पदका लागि अघि सारिने आश्वासन दिइएको भए पनि त्यसअनुसार व्यवहार नभएको आरोप लगाए ।
राईका अनुसार पार्टीमा प्रवेश गराउँदा मेयर उम्मेदवार बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर हाल हर्क साम्पाङले आगामी स्थानीय निर्वाचनका लागि धनबहादुर राईको नाम अगाडि सारेपछि आफू असन्तुष्ट बनेको बताए । धनबहादुर राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् ।
निनाचन्द्र राई हर्क साम्पाङको स्वतन्त्र उम्मेदवारीलाई सफल बनाउन सुरुदेखि नै सक्रिय थिए । यद्यपि, पार्टी गठनपश्चात् केही समय उनी औपचारिक रूपमा संगठनमा आबद्ध भएका थिएनन् । गत वैशाखमा भने उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गर्दै राईले आफूलाई दिइएको राजनीतिक प्रतिबद्धता कार्यान्वयन नभएको र त्यसले आफूलाई पार्टी छाड्ने निष्कर्षमा पुर्याएको बताएका छन् ।