
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देशद्रोही कुरा गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको धेरै जग्गा मिचेको अभिव्यक्तिलाई राष्ट्रघाती बचनभन्दै उनले भने, ‘सम्पूर्ण रूपमा असत्य, झुट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन ।’
प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवाद समाधानमा तेस्रो पक्षसँग छलफल भइरहेको भनेकाप्रति पनि ओलीले आपत्ति जनाए । दुई देशबीचको विवादमा तेस्रो पक्ष आवश्यक नभएको उल्लेख गर्दै उनले भने, ‘यस्तो भनाई अकुटनीतिक, अराजनीतिक एवं अभ्यासविपरितका छन् । यस्ता देशद्रोही कुरामा पनि कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको छ ।’