
काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र दीर्घकालीन विकासका लक्ष्य हासिल गर्न नजिकको सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग भएको भेटवार्तापछि प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने इच्छा व्यक्त गरेका हुन् । उनले भेटलाई सकारात्मक र सौहार्दपूर्ण भएको उल्लेख गर्दै सहकार्यको प्रस्तावलाई स्वागतयोग्य भनेका छन् ।
मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि आपसी सहकार्य गर्ने लामिछानेको अभिप्रायलाई समर्थन गर्दै त्यसलाई आफूले हार्दिक रूपमा स्वीकार गरेको बताएका छन् । उनका अनुसार भारतले नेपाललाई ‘छिमेकी पहिलो नीति’ अन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा लिएको छ ।
उनले दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य विस्तार गर्ने भारतको प्रतिबद्धता रहेको पनि स्पष्ट पारेका छन् ।
यसअघि सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतको सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो ।
प्रतिनिधिमण्डलमा लामिछानेसहित उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।