
काठमाडौं : पार्टी र नेतृत्व पुनर्गठनको बहस चलिरहेका बेला पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बीचैमा झोला फालेर नहिड्नेभन्दै नेतृत्व नछाड्ने सन्देश दिएका छन् ।
अहिलेको अप्ठ्यारो अवस्थाको सामना गर्नकै लागि गत महाधिवेशनमा कार्यकर्ताले आफूलाई अध्यक्ष छानेको उल्लेख गर्दै उनले पार्टीलाई सफलतामा पु¥याएर मात्र विश्राम लिने बताए । गत निर्वाचनमा एमालेले ऐतिहासिक धक्का ब्यहोरेपछि पार्टीभित्र उनको विकल्प खोज्नुपर्ने आवाज उठेको छ । दुई दिने पार्टी कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढंगले पार्टी चल्न नसक्ने भएकाले पुनर्गठनका लागि कार्यदल बनाइएको बताएपछि ओलीले यसविषयमा टिप्पणी गरेका हुन् ।
‘पार्टीमा अहिले हामीले जसरी काम गर्दैर्छौँ, यही रूपमा यस्तै ढंगले पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेका छौँ । पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ’ पौडेलले भनेका थिए, ‘सचिवालय बैठकले निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यदल निर्माण गरेको छ ।’
पौडेललाई जवाफ दिनेगरी ओलीले यस विषयलाई महत्वका साथ उठाएका हुन् । ‘गत पुस ३ मा अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन तपाईंहरुले अध्यक्ष छानेको होइन् । जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको हो’ अध्यक्ष ओलीले पार्टीको राष्ट्रिय कार्यशालामा भने, ‘मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पु¥याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम विश्राम लिने स्थिति बन्छ ।’
विरोधीहरूबाट हमला भइरहेको बेला पार्टीका केही नेताहरु आत्मभत्र्सनामा लागेकोप्रति उनले असन्तुष्टि पोखे । पार्टीविरुद्ध भ्रम फिँजाउनेप्रति शून्य सहनशिलता अपनाइने उल्लेख गर्दै उनले भने, ‘पार्टीमा कोही यता फर्केर बोल्ने, कोही उता फर्केर बोल्ने, पार्टीविरुद्ध भ्रम फिँजाउने । समिक्षा गर्नुपर्छ भन्ने तर समीक्षा नै नभई कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक भ्रम फैलाउदै कुद्ने । यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन ।’
ओलीले आफूलाई हटाउने गृहकार्यप्रति कडा कटाक्ष गर्दै पार्टीभित्र शिर काटेर टेबलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् । ‘शिर काटेर टेबलमा राखिदिने हो भने जिउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’, अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले पार्टीभित्र अहिले व्यापक एकता चाहिएको बताए ।