२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

राप्रपाको वैधानिकता सकिएको दाबी गर्दै राणाले गरे नयाँ राष्ट्रवादी शक्ति निर्माणको आह्वान

Nada
२०८३ जेठ २० गते १७:०९
Shares
राप्रपाको वैधानिकता सकिएको दाबी गर्दै राणाले गरे नयाँ राष्ट्रवादी शक्ति निर्माणको आह्वान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीले कानुनी तथा संस्थागत वैधानिक हैसियत गुमाएको दाबी गर्दै नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न आह्वान गरेका छन् ।

ncell

एक विज्ञप्ति जारी गर्दै राणाले वर्तमान नेतृत्वको कार्यशैली, निर्णय कार्यान्वयनको कमजोरी र संगठनात्मक व्यवस्थापनमा देखिएको समस्याका कारण पार्टी गम्भीर संकटमा पुगेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

उनका अनुसार एकता महाधिवेशनपछि गठन भएको केन्द्रीय कार्यसमितिको कार्यकाल गत मंसिरमै समाप्त भइसकेको थियो । त्यसपछि महाधिवेशन तयारीका लागि उपाध्यक्ष हेमजंग गुरुङ को संयोजकत्वमा गठित सुझाव समितिले जेठभित्रै महाधिवेशन गर्न सिफारिस गरेको र पछि थपिएको समयसीमा पनि हिजो जेठ १९ गते समाप्त भएसँगै पार्टी वैधानिक प्रक्रियाबाट बाहिरिएको उनको दाबी छ ।

राणाले नेतृत्वमाथि आफूलाई लक्षित गरेर गलत प्रचार गरिएको आरोप पनि लगाएका छन् । उनका अनुसार पार्टीभित्र सुझाव दिने अभ्यास भए पनि ती सुझावलाई बेवास्ता गर्ने प्रवृत्ति लामो समयदेखि दोहोरिँदै आएको छ, जसले संगठनात्मक निर्णय कार्यान्वयन कमजोर बनाएको उनको भनाइ छ ।

उनले नेतृत्वको कमजोरीकै कारण पछिल्ला निर्वाचन परिणाममा पार्टीको राजनीतिक प्रभाव घटेको, वैचारिक आधार कमजोर बनेको र कार्यकर्तामा निराशा बढेको टिप्पणी गरेका छन् । साथै, आन्तरिक विश्वास संकटका कारण ठूलो संख्यामा कार्यकर्ताले पार्टी परित्याग गरेको र बाँकी संरचना समेत अस्थिर अवस्थामा रहेको उनको दाबी छ ।

विज्ञप्तिमा अध्यक्षतर्फ लक्षित हालका आधिकारिक भनाइलाई भ्रम सिर्जना गर्ने प्रयासको रूपमा व्याख्या गर्दै राणाले विभिन्न राष्ट्रवादी समूह, अभियान र व्यक्तिहरूलाई एकीकृत गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्न सामूहिक पहल गर्न आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर